भ्रष्टाचारीको अभियोगमा ६१ दिन हिरासतमा थुनिएका चूडामणि शर्मा,सहसचिवको बरियतामा पहिलो नम्बरमा

काठमाडौं पुस १०।तत्कालीन कर फर्छ्यौट आयोगमा रहँदा अनधिकृत रुपमा भ्याट छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेका चूडामणि शर्मा निजामति सेवाअन्तर्गत राजपत्राकिंत प्रथम श्रेणी सहसचिवमा बरियताको पहिलो नम्बरमा परेका छन् ।

 

आन्तरिक विभागको महानिर्देशक हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएका शर्मा ६१ दिन हिरासतमा बसेका थिए । अख्तियारले कर छुट प्रकरणमा शर्माविरुद्ध ३ अर्ब बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा पनि अख्तियारले विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ ।

 

विशेष अदालतले धरौटीमा रिहा गरेका शर्मा हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहमा छन् ।

कर्मचारी समायोजन प्रक्रिया शुरु गरेको सरकारले समायोजन प्रायोजनका लागि सहसचिवहरुको सूची तयार पारेको हो । निजामति कितावखानाले तयार पारेको उक्त सूचीमा शर्मा वरिष्ठताको आधारमा पहिलो नम्बरमा छन् ।

 

उनीपछि कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सचिव राम प्रसाद थपलिया दोस्रो नम्बरमा छन् ।

हालै जारी भएको कर्मचारी समायोजन अध्यादेशले ज्येष्ठतालाई समायोजनको पहिलो आधार मानेको छ । सहसचिवहरुमध्ये धेरै जना संघमा समायोजन हुने देखिन्छ । प्रदेश र स्थानीय तहमा भने संघबाट खटाइने छ । यसरी खटाइँदा सम्भव भएसम्म ज्येष्ठतालाई आधार बनाइने अध्यादेशमा उल्लेख छ ।