माओले देखाएको बाटोमा निरन्तर अघि बढौं– मोहन वैद्य ‘किरण’

नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी का महासचिव मोहन वैद्य ‘किरण’ले माओले देखाएको बाटोमा निरन्तर अघि बढ्न आह्वान गरेका छन् । १२६ औं माओदिवसको अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै साम्राज्यवाद, विस्तारवाद तथा नवप्रतिक्रियावादमा पतन हुन पुगेको संशोधनवादका विरुद्ध निरन्तर संघर्ष जारी राख्न नेपाली सर्वहारा वर्ग, जनसमुदाय र संपूर्ण सुभेच्छुकहरुमा अपिलसमेत् गरेका छन् ।

 

२६ डिसेम्बर ‘आज विश्वका विभिन्न देश र नेपालमा पनि १२६ औं माओदिवस मनाउने काम भइरहेको’ भन्दै महासचिव किरणले ‘माओ विश्व–सर्वहारा वर्ग र उत्पीडित जनसमुदायका एक महान् नेता तथा सुयोग्य शिक्षक हुनुहुन्थ्यो’ भनेका छन् । सर्वहारा वर्गका एक महान् नेताको व्यक्तित्व र योगदानको स्मरणको यस महत्वपूर्ण ‘ऐतिहासिक अवसरमा विश्व तथा नेपाली सर्र्वहारा वर्ग, जनसमुदाय तथा सम्पूर्ण शुभेच्छुकहरुप्रति हामी लाल सलाम अर्पण गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

युग परिवर्तनमा कमरेड माओको योगदानको चर्चा गर्दै विज्ञप्तिमा ‘मार्क्सवादका तीन संघटक अंग अर्थात् दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा माओले गरेका विकास सार्वभौम रहेको’ र यसले ‘सबैखाले प्रतिक्रियावाद, साम्राज्यवाद र संशोधनवादका विरुद्ध भीषण संघर्ष चलाउन’ विश्व सर्वहारा वर्गलाई निर्देशन र प्रेरणा दुवै दिइरहेको कुरामा जोड दिइएको छ ।

विज्ञप्तिमा माओले चीनको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक, भूअवस्थिति तथा आन्तरिक–बाह्य विशिष्टतामा तात्कालीन माक्र्सवाद अर्थात् ‘मार्क्सवाद–लेनिनवादलाई अर्को नयाँ उचाइमा विकसित तुल्याउनु भयो र त्यो माक्सर्वाद–लेनिनवाद–माओवादका रुपमा एक अखण्ड सिद्धान्त बन्न गयो’ भनिएको छ । साथै, ‘अहिले विश्व र नेपालमा पनि संशोधनवादले जबर्जस्त रुपमा टाउको उठाएको र त्यसको प्रतिक्रियावादमा पतन हुन पुगेको’ भन्दै नेपालको वर्तमान अवस्थामा ‘साम्राज्यवादी तथा विस्तारवादी उत्पीडन एवम् हस्तक्षेप बढ्दै गएको र त्यसलाई प्रतिक्रियावादमा पतन हुन पुगेको संशोधनवादले साथ दिइरहेकाले’ त्यसका विरुद्ध देशव्यापी संघर्ष उठाउनुपर्ने कुरामा जोड दिइएको छ ।

संशोधावादी प्रतिक्रियावादको जगजगी रहेको वर्तमान सन्दर्भलाई उजागर गर्दै विज्ञप्तिको अन्त्यमा भनिएको छ– ‘यो बेलामा संशोधनवादको धज्जी उडाउँदै दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद, साम्राज्यवाद तथा विस्तावादविरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद तथा साम्यवादतर्फ अगाडि बढ्नका लागि माओका अविस्मरणीय योगदानहरुको सम्मान गर्दै माओदिवस मनाउनुको विशेष ऐतिहासिक अर्थ र महत्व’ रहने छ ।

यसका लागि सिंगो पार्टी केन्द्रीय हेडक्वाटरको सन्देश र निर्देशनसहित महासचिव किरणद्वारा ‘म केन्द्रीय समितिको तर्फबाट सबै पार्टी कमरेडहरुसित विशेष उत्सवका रुपमा मओदिवस मनाउन र माओले देखाएको बाटोमा निरन्तर लागिरहन हार्दिक अनुरोध गर्दछु’ भनिएको छ ।

विज्ञप्तिको पूर्ण पाठ: