निर्मला पन्त प्रकरण : पक्राउ परेका प्रदीप रावल पनि थुनामुक्त

काठमाडौं  पाैष ११। कञ्चनपुरकी १३ वर्षिय नाबालिका निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेका कञ्चनपुरका युवा प्रदीप रावल थुनामुक्त भएका छन्। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको हो । प्रदीप गत मंसिर २० गते काठमाडौंबाट पक्राउ परेका थिए ।

रावलमाथि प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मुद्दा चलाएको थियो। रावललाई जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार थुनामुक्त गरिएको प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए। यसअघि उनले निर्मला हत्या प्रकरणमा साविति बयान दिएको भन्दै प्रहरी हौसिएको थियो। प्रहरीले अनुसन्धानका क्रममा उनको डिएनएसमेत परीक्षण गरेको थियो।

 

स्रोतहरुका अनुसार उनको डिएनए नेगेटिभ आएको छ। तर, प्रहरीले अहिलेसम्म उनको डिएनए रिपोर्ट सार्वजनिक गरेको छैन। निर्मलाको हत्या भए लगत्तै भारत गएका उनी ५ दिनपछि कञ्चनपुर फर्किएका थिए । त्यसपछि प्रहरीले उनीमाथि शंका गर्दै डिएसपी अंगुर जिसीको टोलीले पक्राउ गरेको थियो । तर उनको संलग्नता नदेखिएपछि रावललाई रिहा गरिएको थियो ।

 

रावल लागुऔसध दुव्र्यसनी समेत हुन् । पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । घटनाको पाँच महिना बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाउन सकेको छैन ।