राम्रीमा गुमेका ‘राम्रा शिक्षक’

दाङ, पुस १३ । दिदी लक्ष्मीको जन्मदिन । गत शुक्रबार बिहान साढे तीन बजे घोराही उपमहानगरपालिका– २ का प्रदीप घिमिरेले दिदीलाई फेसबुकमार्फत जन्मदिनको शुभकामना दिएका थिए । दिदीसँगै आफ्नो तस्बिर पोस्ट गरेर प्रदीप बिहान ६ बजेतिर विद्यार्थी लिएर सल्यान उक्लिए ।

 

सहिद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका आफ्ना विद्यार्थीलाई सल्यानको वनस्पति उद्यान घुमाएर फर्कने क्रममा राम्री भन्ने ठाँउमा बस दुर्घटनामा परी प्रदीपको निधन भयो ।

 

आफ्ना गुरु तेज कुँवरसँग प्रदीपले बाचा गरेका थिए, ‘सल्यानबाट फर्कनासाथ सरसँग रमाइलो भेटघाट गर्छु ।’ ३१ वर्षीय प्रदीप गुरुसँग कहिल्यै भेट नहुने गरी अस्ताए ।गुरुचेला दुवैले घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा पढाउँदै आएका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।