६ बालिकाको बिचल्ली,आमाबुवा विहीन सहयोगको अपिल

बैतडी, पुस १४ । आमाबुवाविहीन बैतडीको दशरथचन्द नगरपालिका–१० सतपालीका ६ जना बालिकाहरुको बिचल्ली भएको छ । बुवाको मृत्यु भएको ३ महिनामै आमा पोइल गएपछि बालबालिकाहरुको बिचल्ली भएको हो ।

 

बुवा राजुराम लावड बिरामी भएर ३ महिना अघि मृत्यु भएको र आमा मीना लावड पोइल गएपछि बालिकाहरुको बिचल्ली भएको हो । १४ वर्षीया निलम लावड, १२ वर्षीय नितु लावड, ११ वर्षीय तृप्ती लावड, १० वर्षीय लीला लावड, ६ वर्षीय बिन्दु लावड र ३ बर्षीय ममता लावडको बिचल्ली भएको छ ।

 

बुवा मरेको केही दिनमै आमा पोइल गएपछि आफूहरुलाई निकै समस्या भएको बालिका निलम लावडले बताइन् । उनले भनिन्–‘घरमा खानेकुरा देखि लिएर ओढ्ने बिछ्याउनेको समेत अभाव रहेको छ ।’

 

बालिकाहरुलाई दशरथचन्द नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले एक हजार ५ सय सहयोग गरेका छन् भने स्थानीयहरुकै सहयोगमा ओढ्ने बिच्छ्याउने कपडा प्रदान गरिएको छ ।

 

बिचल्लीमा परेका बालबालिकाहरुलाई तत्काल सहयोग पुर्याउन दशरथचन्द नगरपालिकाले १० हजार विनियोजन गरिसकेको गरपालिकाका उपप्रमुख मीना चन्दले बताइन् । चिसोको समयमा आमावुवाविहीन रहेका बालबालिकालाई खानबस्न समेत समस्या भएको छ । उनीहरुले सहयोगको लागि अनुरोध गरेका छन् ।