सलाम छ नगरप्रमुख ज्यु ! यस्ता पो नगरप्रमुख,आफुले पाएको तलबबाट विद्यार्थीलाई न्यानो कपडा दिए !

पर्वत  पाैष १५ । आफूले जनप्रतिनिधि भएवापत राज्यले दिने सेवासुविधावापतको रकम नगरवासीकै नाममा खर्च गर्ने घोषणा गरेका कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शुक्रबार फेरि अर्को सहयोग हस्तान्तरण गर्नुभएको छ । नगरप्रमुख जोशीले सिटी एक्सप्रेससँगको सहकार्यमा कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको जगदम्बा आधारभूत विद्यालय र कुश्मा नगरपालिका–५ मा रहेको बाल मन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।

 

जाडो मौसममा विपन्न परिवारका बालबालिका पनि चिसोबाट बच्न सकुन् र जस्तोसुकै अवस्थामा पनि विद्यालय नियमित गर्न सकुन् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गर्नुभएको छ । जोशीले जगदम्वाका २६ र बाल मन्दिरका २० गरी ४६ जना विद्यार्थीलाई एकै दिन कपडा वितरण गर्नुभएको हो । सो अवसरमा बोल्दै उहाँले आफू सधैं विपन्न र गरीब परिवारको साथमा रहने बताउनुभयो । यसअघि पनि नगरप्रमुख जोशीले आफ्नो तलबबाट विद्यार्थी, विद्यालय, उपचार पाउन नसकेका विद्यार्थीलाई सहयोग गर्दै आउनुभएको छ । रासस