कार्यपालिका सदस्यले आफ्नाे एक वर्षको तलव खर्चेर जेष्ठ नागरिकलाई कम्बल वितरण

कञ्चनपुर, पुस १६ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मी शाहले एक सय ३२ जना जेष्ठ नागरिकलाई आज न्यानो कम्बल वितरण गरेकी छन । नगरपालिकाबाट पाउने एक वर्षको तलव खर्चेर उनले कम्बल वितरण गरेकी हुन् ।

कठयाङग्रीदो चिसोलाई मध्यनजर गर्दै ७० वर्ष माथिका विपन्न, दलित र जनजाती समुदायका जेष्ठ नागरिलाई उनले कम्बल वितरण गरेकि छन् ।

कम्बल वितरण गर्दै उनले आर्थिक अभावले न्यानो कपडाको अभावमा चिसो खेप्दै आएका परिवारलाई प्राथकितामा राखेर कम्बल वितरण गरेको बताइन् । कम्बल पाएपछि खुसि हुँदै ८० वर्षिय कमला देवी भट्टले कार्यपालीका सदस्य शाहले कम्बल प्रदान गरेर गुन लगाएको बताइन् ।

‘ओढने कपडा पुरानो हुदा निकै चिसो खेप्दै आएका थियौं ।’ उनले भनिन् ‘कम्बल पाएपछि निकै सहज हुने भएको छ ।’ जेष्ठ नागरिक संगै शाहले झलारी स्थीत स्वास्थ्य चौकीमा रहेको प्रसूती गृहका लागि छ वटा र शिव मन्दिरमा बस्दै आएका साधुलाई पाँच वटा र रामजानकी मन्दिका लागि सात वटा कम्बल समेत उनले उपलव्ध गराएकी छन् ।