उधारोमा सुत्केरी !

काठमाडौं, पुस २५ । प्यूठानको झिमरुक गाउँपालिका–१ धनगाडा सौता मारेफेदीकी विपना घर्तीमगरले स्वास्थ्यचौकी पुगेर चार पटक नियमित गर्भ जाँच गराइन्।

 

गाउँका महिला स्वास्थ्य स्वय्रसेविकाले कम्तिमा चारपटक गर्भजाँच गराउनु पर्छ भनेपछि उनी गाउँकै स्वास्थ्यचौकी पुगेकी हुन् भन्ने खबर अन्नपूर्णपोष्ट दैनिकमा छ।

 

२१ वर्षीया उनले गत कात्तिकमा बांगेमरोठ स्वास्थ्यचौकी पुगेर पहिलो सन्तान छोरा जन्माइन्। स्वास्थ्य संस्थामा सुत्केरी भएपछि यायातात खर्च त पाइनन् नै गर्भजाँच गराउँदा उत्प्रेरणाबापतको पैसा पनि पाइनन्।

 

‘पछि दिन्छौं भन्नु भएको छ’ उनले भनिन् ‘माघ ३ गते खोप लगाउन जाँने हो। त्यसै दिन दिनु हुन्छ कि रु’ विपना जस्तै झिमरुक गाँउपालिकाका धेरैजसो सुत्केरीले यायायात र गर्भजाँच बापतको रकम पाएका छैनन्। गत आर्थिक वर्षसम्म गाँउगाँउमा सञ्चालित बर्थिङ सेन्टरमा सुत्केरी हुने आमाले रकम बुझ्दै आएका थिए।