बच्चा जन्माई परालको कुन्यूमा फाल्ने महिला पक्राउ

लहान, माघ ११। आफैँले जन्माएको शिशु परालको कुन्युमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।आँपको बगैँचामा परालको कुन्यूमा बेवारिसे नवजात शिशु फाल्ने सिरहाको गोलबजार नगरपालिका– ११ बल्कवा निवासी २८ वर्षीया पिङ्की सदायलाई प्रहरीले आज पक्राउ गरेको हो ।

 

गोलबजार नगरपालिका– ८ सिडियोटोल नजिकै रहेको आँपको बगैँचामा परालको कुन्यूमा बेवारिसे नवजात शिशु फेलापरेपछि अनुसन्धान गर्दा पिङ्की सदायले नै फालेको पुष्ठी भएकाले उनलाई पक्राउ गरिएको सिरहा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

शिशुलाई आमा पिङ्कीकै जिम्मा रहने गरी उनीविरुद्ध मुद्दा चलाइएको उक्त कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

 

शिशु जन्माएको १२औँ दिनमा शिशु फालेकीले आजै उनीबिरुद्ध सिरहा जिल्ला अदालतमा मुद्दा दायर गरी अनुसन्धानका लागि म्याद थप गराइएको छ ।