जन्मका आधारमा नागरिकता लिएकाका सन्तानले राष्ट्रपति बन्न पाउने

काठमाडौं, फागुन १७ । संविधानसभाबाट नयाँ संविधान जारी हुनुअघि जन्मका आधारमा नेपालको नागरिकता लिएका व्यक्तिका सन्तान पनि अब राष्ट्रपति र उपाष्ट्र बन्न पाउने भएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकले २०६५ मंसिर १० गतेभित्र निववेदन दिई संविधान जारी हुनुअघि जन्मका आधारमा नेपालको नागरिकता पाउने व्यवस्थामा सहमति भएपछि उनीहरू राष्ट्रपति र उपराष्ट्रपति बन्न पाउने भएका हुन्।

 

नागरिक दैनिकका अनुसार संविधानको व्यवस्थालाई अक्षरशः पालना गरी जन्मको आधारमा नागरिकता लिने व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने सहमति भएकाले राष्ट्रपति र उपराष्ट्रपति बन्नसक्ने बाटो सुरक्षित बनेको छ।

 

नेपालको संविधानको धारा ११ को उपधारा ३ मा भएको व्यवस्थालाई आधार बनाउँदै समितिले संविधान प्रारम्भ हुनुअघि जन्मको आधारमा नेपालको नागरिकता लिने सन्तानका बाबुआमा दुवै नेपालका नागरिक रहेछन् भने जिन वालिग भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको छ।