विप्लव लुटेरा समूह हो, नेकपा हटाएर लुटेरा बिप्लब राख्नुहोस : प्रधानमन्त्री ओली

काठमाडौं,फागुन २४।प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’लाई लुटेरा समूहको संज्ञा दिएका छन् ।बुधवार स्वतन्त्र मधेस गठवन्धन र नेपाल सरकारबीच भएको सम्झौता कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको पार्टी ‘नेकपा’ नभइ लुटेर समूह रहेको बताए । उनले नेकपाको बर्को हटाएर लुटेरा बिप्लब राख्न समेत सुझाब दिएका छन् । राष्ट्रिय सभागृहमा भएको राजनीतिक सहमति कार्यक्रममा प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र डाक्टर सीके राउतबीच केही समानता भएको बताउनुभयो ।

प्रचण्ड पनि युद्ध र हतियारको बाटो त्यागेर शान्तिपूर्ण राजनीति हुँदै संविधान निर्माणमै अगुवाइ गर्दै यहाँसम्म आइपुगेको बताउँदै प्रधानमन्त्री ओलीले ती गुण डाक्टर राउतमा पनि देखेको बताउनुभयो । डाक्टर सीके राउत कम्प्युटर वैज्ञानिक मात्रै होइन,एउटा राजनी तिक चिन्तक पनि भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो । नेपालको संसदीय व्यवस्था विश्वकै उदाहरणीय संसदीय प्रणाली भएकाले कुनै पनि माग पूरा गर्न हिंसाको आवश्यक नपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । अहिले सिङ्गै देशलाई सार्वभौमसत्ता र स्वाधिनताको रक्षा गर्नुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।

 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशको एक इञ्च जमिन पनि छुट्याउन र कसैलाई दिन मिल्दैन ।’नेपाली भूमि विद्वानहरुले ज्ञान संग्रह र त्यसलाई विस्तार गर्नेहरुको देश भएको पनि प्रधानमन्त्री केपी शर्मा ओेलीले बताउनुभयो । राजनीतिक प्राप्तिको एउटा चरण पार भएकाले अब नेपाल समृद्धि र सुशासनको बाटोमा हिँडेको पनि उहाँले बताउनुभयो । सीके राउत समूहसँगको सहमति पनि यसै कार्यको एउटा उचाइ भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।त्यस्तै प्रधानमन्त्री ओलीले सरकारले देशमा देखिएका सबै समस्या समा धान गर्न चाहेको पनि स्पष्ट पार्नुभयो । त्यसैले पनि कसैले पनि सरकारलाई शंकाको दृष्टिले हेर्न नपर्ने उहाँले बताउनुभयो ।

 

शुक्रबार नेपाल सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच मधेश र देशमा देखिएको मतभेदको समाधान जन अभिमतमा आधारित लोकतान्त्रिक विधिमार्फत समाधान गर्ने ११ बुँदे सहमति भएको हो । राष्ट्रिय सभागृहमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा सरकारको पक्षबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका संयोजक सीके राउतले ११ बुदे सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो । मधेशमा पृथकतावादी गतिविधि सञ्चालन गरिरहेका सीके राउतले अखण्ड नेपाल स्वीकार गरेपछि सहम तिपत्रमा हस्ताक्षर हुन पुगेको हो।