विद्यार्थीबीच झगडाहुँदा खुकुरी हानाहान:१ जना घाइते, ४ जना पक्राउ

लमजुङ, फागुन ३०। लमजुङको बेसीशहर नगरपालिका ३ स्थित लमजुङ माविमा विद्यार्थीहरुबीच खुकुरी हानाहान भएको छ । सोही स्कुलमा पढ्ने सञ्जीव तामाङको ४ जनाको समुहले कक्षा १० मा अध्ययनरत बिष्णुप्रसाद देउजामालाई खुकुरी हानेको हो ।

 

उनीहरुबीचको झगडामा देउजाको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ । घाइते देउजाको लमजुङ सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।

देउजामाथि खुकुरी प्रहार गर्ने तामाङ समुहको ४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । देउजा होस्टेलमा बस्दै आएका थिए ।

 

उनलाई होस्टेलबाट स्कुल आउदा कम्पाउण्ड बाहिर झगडा भएको र कम्पाउण्डभित्र पहिलो पिरियडमै थप झगडाहुँदा खुकुरी प्रहार भएको लमजुङ माविका प्रधानाध्यापक सीता बरालले जानकारी दिए । उनीहरुबीच महाशिवरात्रीमा भएको फुटवल प्रतियोगितामा भनाभन भएको बुभिएको छ ।