अमेरिकाले वार्ताको वातावरण बिगार्‍यो : उत्तर कोरिया

प्योङयाङ, चैत २ । उत्तर कोरियाली नेता किम जोङ–अनले संयुक्तराज्य अमेरिकासँगको वार्तालाई निरन्तरता दिन कूटनीतिक पहल गर्ने वा नगर्नेबारे चाँडै निर्णय लिने एकजना उत्तर कोरियाली वरिष्ठ अधिकारीले बताएका छन् ।

 

साथै, नेता किमले क्षेप्यास्त्र प्रहार र आणविक परीक्षणलाई स्थगन गर्नेबारेमा पनि निर्णय लिनेछन् । उत्तर कोरियाली अधिकारीले दुई नेताबीच भियतनामको हनोइमा सम्पन्न दोस्रो शिखर बैठकमा अमेरिकाले सुवर्ण अवसर गुमाएको पनि बताए ।

 

उत्तर कोरियाकी उपविदेशमन्त्री चो सोन हुईले प्योङयाङमा विदेशी कूटनीतिज्ञ एवं संवाददाताहरुलाई सम्बोधन गर्दै हनोइ शिखर वार्तामा कुनै सहमतिमा हस्ताक्षर नभएकामा उत्तर कोरिया दुःखी भएको बताइन् । उनले संयुक्तराज्य अमेरिकाले अभिरुचि नदेखाएको अवस्थामा वार्ता पुनः सुरु गर्ने सम्भावना नरहेको पनि स्पस्ट गरिन् ।

 

हनोइ वार्तामासमेत सहभागी उपविदेशमन्त्री चोले अमेरिकी वार्ता प्रक्रियाबाट उत्तर कोरियाली नेता अचम्मित भएको पनि बताइन् ।

अमेरिकी राष्ट्रपति वार्तामा केही लचिलो भएपनि विदेशमन्त्री माइक पोम्पेओ र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको हठपूर्ण मागहरुले वार्ता बीचमै भंग भएको बताइन् ।

 

अमेरिकी राष्ट्रपतिका वरिष्ठ सल्लाहकारबाट आइरहेका वक्तव्यहरुले पनि वातावरणलाई थप बिगारेको उनले बताइन् ।

वासिङ्टनमा पोम्पेओ र बोल्टनले उत्तर कोरियाली आरोपको खन्डन गरिसकेका छन् ।

 

‘उनीहरुले भनेको कुरामा सत्यता छैन । मपनि त्यहीँ थिएँ’–पोम्पेओले भने । बोल्टनले डोनाल्ड ट्रम्प नै आखिरी निर्णयकर्ता रहेको बताए ।

विदेशमन्त्री पोम्पेओले अमेरिकाले क्षेप्यास्त्र प्रहार र आणविक परीक्षण स्थगन गर्ने किमको प्रतिज्ञालाई ट्रम्पले विश्वास गरेको पनि स्पस्ट गरे ।

 

‘हनोइमा उहाँले धेरैपटक राष्ट्रपतिसँग कुराकानी गर्नुभएको थियो र आणविक परीक्षणलाई पुनः थालनी नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो’– पोम्पेओले भने–‘त्यही नै अध्यक्ष किमका शब्द हुन् । हामी अझैपनि किमले त्यो प्रतिबद्धता पूरा गर्ने विश्वासमा छौं ।’

 

तनावका बाबजुद् उपविदेशमन्त्री चोले दुई नेताबीचको व्यक्तिगत सम्बन्ध अझैपनि राम्रो रहेको बताइन् । ‘उत्तर कोरियाली नेता किमले राष्ट्रपति ट्रम्पलाई दिएको वचनकाबारेमा जतिसक्दो चाँडो जवाफ दिनुहुनेछ’–चोले भनिन् ।

 

हनोइ वार्तामा अमेरिकी अधिकारीहरुको ‘ग्याङ’शैलीको प्रस्तुति कुनैपनि हालतमा स्वीकार्य नहुने उत्तर कोरियाली नेता किमले बताएको पनि मन्त्री चोले उल्लेख गरिन् ।

 

मन्त्री चोले अमेरिकी राष्ट्रपति ट्रम्पले हनोइ वार्तापछि आयोजित पत्रकार सम्मेलनमा उत्तर कोरियाले आफूविरुद्धका सम्पूर्ण प्रतिबन्धहरु फुकुवा गर्नुपर्ने शर्त राखेको र त्यसमा सहमत हुन नसकिएको भन्ने भनाइमा सत्यता नरहेको पनि स्पस्ट गरिन् ।

 

उनले उत्तर कोरियाले तत्कालका निम्ति आमनागरिकको जीवनसँग जोडिएका प्रतिबन्धहरुमात्र फुकुवा गर्न वार्तामा प्रस्ताव गरिएको बताइन् ।

मन्त्री चोले आमजनता, सैनिक र जंगी उद्योगका अधिकारीहरुले किमलाई पत्र लेखी आणविक कार्यक्रम यत्तिकै नत्याग्न अनुरोध गरिरहेको पनि बताइन् । तर, नेता किम आपसी विश्वास र आपसी सहमति निर्माण गर्ने उद्देश्यसाथ हनोइ गएको उनको भनाइ छ ।

 

मन्त्री चोले भनिन्–‘मैलेपनि बुझ्न सकिरहेकी छैन, किन अमेरिका भिन्न धारणाका साथ प्रस्तुत् भयो रु हामीले कहिल्यै प्रतिबन्धहरु पूर्णरुपमा फुकुवा गर्न भनेकै थिएनौं । यसपटक हामीले सुस्पस्टरुपमा के बुझेका छौं भने संयुक्तराज्य अमेरिकाले हाम्रा विषयमा ज्यादै भिन्न किसिमले अध्ययन गरिरहेको छ ।’

 

उत्तर कोरियाले तत्कालै क्षेप्यास्त्र वा आणविक अस्त्र परीक्षण गर्ने तयारी गरिरहेको भन्ने समाचारकाबारेमा एक कूटनीतिज्ञले सोधेको प्रश्नमा मन्त्री चोले भनिन्–‘आणविक अस्त्र परीक्षण स्थगन वा सुचारु गर्ने विषयमा निर्णय लिने मुख्य अधिकारी नेता किम नै हो । उहाँले छोटो अवधिमा पनि यस विषयमा निर्णय लिन सक्नुहुन्छ ।’ करिब एक घन्टा चलेको उक्त कार्यक्रममा पत्रकारहरुलाई भने प्रश्न गर्न अनुमति दिइएको थिएन ।

रासस/एपी