क्रान्तिकारी पत्रकार महासंघको अधिवेशन जेठ १६ र १७ गते बुटवलमा

बुटवल,चत्रै १७। क्रान्तिकारी पत्रकार महासंघको बुटवलमा सम्पन्न वैठकले राष्ट्रिय अधिवेशन जेठ १६ र १७ गते बुटवलमा गर्ने निर्णय गरेको छ ।
यस अघि फाल्गुनको अन्तिम साता अधिवेशन गर्ने तयारी भए पनि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको मेचीमहाकाली अभियानका कारण अधिवेशन स्थगित गरिएको थियो ।

क्रान्तिकारी पत्रकार महासंघका सचिव रामकुमार श्रेष्ठका अनुसार बुटवलमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
क्रान्तिकारी पत्रकार महासंघले अहिले केन्द्रिय अधिवेशन पूर्व प्रदेश सम्मेलन तथा भेलाहरुका साथै जिल्ला सम्मेलन तथा भेलालाई तिब्र पारेको छ ।
अधिवेशनमा प्रत्येक जिल्लाबाट ३र३ जना प्रतिनिधि गरी देशभरबाट २ सय बढी प्रतिनिधिहरुको सहभागी हुने महासंघले जनाएको छ ।
वैठकले अधिवेशनका लागि तयारी उपसमितिहरु पनि गठन गरेको छ । जसअन्तरगत विधान तथा प्रतिवेदन उपसमिति, आर्थिक संकलन उपसमिति र प्रचार तथा प्रकाशन उपसमितिहरु गठन गरेको छ ।

अध्यक्ष इन्द्र राउतको संयोजकत्वमा नारायण पंगेनी, रामकुमार श्रेष्ठ, लोकराज जैसी, गोपाल जिसी र रनसुर महतरा सदस्य रहने गरी विधान तथा प्रतिवेदन उपसमिति बनेको छ । त्यसैगरी सचिव रामकुमार श्रेष्ठको संयोजकत्वमा मधुकर थापा, शिवशंकर पाण्डे, रनशुर महतरा, गोपाल जिसी, दामोदर खनाल, धनञ्जय अवस्थी, रवि पाण्डे, राजेन्द्र सुवेदी सागर र टेक मास्की सदस्य रहने गरी आर्थिक संकलन उपसमिति गठन भएको अध्यक्ष इन्द्र राउतले बताए ।
त्यसैगरी वैठकले अधिवेशनकै लागि कार्यालय सदस्य लोकराज जैसीको संयोजकत्वमा धनञ्जय अवस्थी, सागर श्रेष्ठ, शिवशंकर पाण्डे, विएन श्रेष्ठ र विष्णु आले सदस्य रहेको प्रचार तथा प्रकाशन गठन गरेको छ । प्रचार तथा प्रकाशन उपसमितिले क्रान्तिकारी पत्रकार महासंघको विगत इतिहासदेखि वर्तमानसम्मका अवस्थाका साथै विभिन्न आलेखहरु समेटेर स्मारिका प्रकाशन गर्ने छ ।

त्यसैगरी भेलाले प्रदेश भेला गर्न बाँकी रहेको प्रदेश ५ र ६ मा बैंशाख १५ सम्म भेला गरिसक्ने निर्णय समेत गरेको छ ।
वैठक क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतको अध्यक्षता र जनवर्गीय संगठन इन्चार्ज रामसिं श्रीसको प्रमुख आतिथ्यतामा भएको थियो ।