सिंहदरबार पुनर्निर्माण, ८ दशमलव ८ रेक्टरको भूकम्पबाट नभत्किने बनाइँदै

काठमाडौं, चैत २०।सरकारले गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर २०७२ को भूकम्पबाट क्षति पुगेको सिंहदरबारको मुख्य भवनलाई ८ दशमलव ८ रेक्टर स्केलको भूकम्पबाट क्षति नपुग्नेगरी पुनर्निर्माण थालेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले चर्काएको सिंहदरबारको मुख्य भवनको पश्चिमी मोहडालाई सबलीकरण (रेट्रोफिटिङ) गर्ने निष्कर्ष निकालेको हो ।

प्राधिकरणले यसअघि सिंहदरबारको मुख्य भवनको पश्चिम मोहडाको भागलाई पुनर्निर्माण गर्ने तयारी गरे पनि पुनः सबलीकरण गर्ने निर्णयमा पुगेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सबलीकरणकै आधारमा ८ दशमलव ८ रेक्टर स्केलको भूकम्प आउँदा पनि केही नहुने गरी डिजाइन तयार भएको जनाएको छ ।

 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मंगलबार संघीय संसद्को विकास तथा प्रविधि समितिको बैठकमा पश्चिमी मोहडालाई पनि सबलीकरण गरिने बताए । प्राधिकरणले सिंहदरबारको मुख्य भवनको सबलीकरणको काम आगामी १५ बाट सुरु गर्ने योजना बनाएको छ । प्राधिकरणका सीईओ ज्ञवालीले १५ वैशाखभित्र टेन्डर आह्वान गरिसक्नेसमेत बताए ।

 

प्राधिकरणले सिंहदरबारको मुख्य भवनको पूर्व, उत्तर र दक्षिणी भागको मर्मतसम्भार तीव्र रूपमा गर्दै आएको छ । सीईओ ज्ञवालीका अनुसार पुरानै कलाकृतिको संरक्षण हुने गरी आवश्यक काठ, स्टिललगायतका सामग्री फेर्ने काम भइरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।