यस्ता देशभक्त राष्ट्र सेवकलाई सलाम : ९ अर्ब घाटामा रहेको बिद्युत प्राधिकरण अहिले आएर झण्डै ३ अर्ब नाफामा

काठमाण्डौ, चैत ३०। नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

 

महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदन अनुसार प्राधिकरणको जगेडा तथा सञ्चित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ । आर्थिक वर्ष २०७२/७३ मा जगेडा तथा सञ्चित कोष २६ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक थियो ।

 

गएको वर्षको तुलनामा बिक्रीमा खुद नाफा र चालु सम्पत्तिमा दायित्व अनुपात बढेको तथा ऋणको अनुपात, कुल खर्चमा कर्मचारी खर्च अनुपात र वितरण नोक्सान घटेको छ । विगतको तुलनामा प्राधिकरणको वित्तीय अवस्था सुधारोन्मुख देखिएको महालेखाले उल्लेख गरेको छ ।

 

कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौमा आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपणसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ देखिएको हो ।

 

२०७३ को भदौमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो । देशमा लोडसेडिङ अन्त्यसँगै घिसिङले प्राधिकरणलाई नाफामा लैजान पनि सफल हुनुभएको छ ।

 

घिसिङको नेतृत्वमा विद्युत चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट आर्थिक वर्ष २०७३/७४ मा प्राधिकरणले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । आर्थिक वर्ष २०७४/७५मा नाफा बढेर झण्डै ३ अर्ब पुगेको छ ।

 

विद्युत चुहावट नियन्त्रणमा सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मत–सम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुनर्संरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो ।

 

प्राधिकरणको शेयर पूँजी १ खर्ब २ अर्ब ४४ करोड, दीर्घकालीन दायित्व १ खर्ब २० अर्ब ९५ करोड ४३ लाख र चालु दायित्व ८४ अर्ब ७७ करोड ८० लाख समेत कुल पुँजी तथा दायित्व २ खर्ब ८४ अर्ब ५७ करोड २१ लाख रुपैयाँ रहेको छ । अचल सम्पत्तितर्फ  स्थिर सम्पत्ति १ खर्ब १२ अर्ब ९८ करोड, निर्माणाधीन सम्पत्ति ७७ अर्ब ६१ करोड तथा लगानी २९ अर्ब ९४ करोड समेत २ खर्ब २० अर्ब ५३ करोड ३० लाख र चालु सम्पत्ति ६४ अर्ब ३ करोड ८९ लाख रुपैयाँ रहेको छ । गत वर्ष १ अर्ब ४६ करोड ७३ लाख रहेकोमा यस वर्ष २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

विद्युत चुहावट २०।४५ प्रतिशतमा झर्यो

गत आर्थिक वर्षमा विद्युत चुहावट २०.४५ मा झार्न प्राधिकरण सफल भएको छ । उत्पादन, प्रसारण तथा वितरण चरणमा विद्युत चुहावट २०७३/७४ को वर्षको तुलनामा २.४५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष २२।९० प्रतिशत विद्युत चुहावट थियो । प्राधिकरणले चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो ५ महिनामा विद्युत चुहावट १५.४५ प्रतिशतमा झारेको छ ।

 

चालु आवमा विद्युत चुहावट १८.५ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । आव २०७३/७४मा प्रसारण नोक्सान ५ प्रतिशत रहेकोमा गत आवमा ५।६३ प्रतिशत पुगेको छ । आव २०७३/७४मा १६.८२ प्रतिशत रहेको वितरण नोक्सान घटेर १४.८२मा झरेको छ । प्रसारण नोक्सान गर्त वर्षको तुलनामा ०.६३ प्रतिशतले बढेको छ भने वितरण नोक्सान गत वर्षको तुलनामा २ प्रतिशतले घटेको महालेखाले जनाएको छ ।

 

प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सब–स्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

 ujjalo