नेपालको सिको गर्दै इराक पनि पब्जीलाई प्रतिबन्ध लगाउदै

काठमाडौं,, बैशाख ४ । नेपालले अनलाइन गेम पब्जीलाई रोक लगाएपछि यसको सिको खाडी राष्ट्र इराकले पनि गर्ने भएको छ । इराक पनि यसलाई रोक लगाउने तयारीमा लागेको भारतीय पत्रिका टाइम्स अफ इण्डियाले बुधबार जनाएको छ । इराक को संस्कृति सम्बन्धी संसदीय समितिले सो सम्बन्धी कानुनको मस्यौदा बनाइरहेको छ । त्यसमा पब्जीले कम उमेरका युवाहरुको दिमाग बिगार्ने काम गरिरहेको र त्यसलाई बन्द गर्नुपर्ने जनाइएको छ । बग्दादमा पत्रकार सम्मेलन गर्दै सो समितिका अध्यक्ष समिया गुलाबले पब्जी जस्ता खेलले बालबालिका र युवालाई कुलतमा पारेको जनाउँदै त्यसलाई रोक्नका लागि समितिले कानुनको मस्यौदा तयार पार्न लागेको जनाइन् ।

 

सो खेलका कारण गएको वर्ष इराकमा केही विवाहितको सम्बन्ध विच्छेद हुनुका साथै केहीले आत्महत्या गरेको समाचारपनि आएको थियो । सो खेलबारे नेपालमा विभिन्न अभिभावक र विद्यालयको गुनासो आएपछि बन्द गरिएको समाचारमा जनाइएको छ । सो समाचारमा नेपालका प्रहरी अधिकारी धिरज सिंहलाई उद्धृत गर्दै ८ वटा विद्यालय र २५ अभिभावकको पत्र प्रहरीकहाँ आएपछि यसलाई रोक लगाउने प्रक्रिया अघि बढेको हो । सो समाचारमा जनाइएअनुसार भारतको गुजरातको राजकोटमा पनि हालै सार्वजनिक रुपमा पब्जी गेम खेलेको आरोपमा कलेजका १० जना युवालाई पक्राउ गरिएको थियो ।

 

तर पब्जी मोबाइल डेभलपर्सको कार्यालयले भने यो खेल मनोरञ्जनको लागि मात्रै भएको जनाउँदै यसलाई स्वस्थ र जिम्मेवार ढंगले खेल्नुपर्ने जनाएको छ । ‘‘केही सहरहरुमा स्थानीय अधिकारीहरुले यो खेलमा रोक लगाएको सुनेर हामी छक्क परेका छौं,’’ पब्जीका डेभलपर्सलाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले जनाएको छ ।यता पब्जीमाथि प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णय बदर गर्न माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौड्याल र कानूनका विद्यार्थी विनय रिमालले पब्जीमाथि प्रतिबन्धको निर्णय बदर गर्न माग गर्दै सार्वजनिक सरोकारको रिट दायर गरेका हुन् ।