डीएसपी ढुंगेलकाे फोनमा अभियुक्तले पठाएको सन्देश र उनीसँगको सम्पर्क देखिएपछि निलम्बन

काठमाडौं, वैशाख १९ । डकैती घटना अनुसन्धानको क्रममा अभियुक्तको फोनमा ढुंगेललाई पठाएको सन्देश र उनीसँगको सम्पर्क देखिएपछि डीएसपी कुमोद ढुंगेल अनुसन्धानका लागि निलम्बनमा परेका छन्।

 

गृहमन्त्रालयले बिहीबार डीएसपी ढुंगेललाई निलम्बन गरी छानबिनको प्रक्रिया अगाडि बढाएको प्रहरी स्रोतले बताएको छ । यसअघि गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले ढुंगेलमाथि छानबिन गर्ने प्रतिक्रिया दिएका थिए। ढुंगेल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा कार्यरत छन्।

ढुंगेलमाथि आईजीपीको सचिवालय र महानगरीय प्रहरी अपराध महाशाखाले गरिरहेको छ।

गत चैत २६ गते रानीबारीमा लालेन्द्र शेरचन्दको घरमा भएको डकैत घटनामा पक्राउ परेका अभियुक्त विक्रम श्रेष्ठ र डिएसपी ढुंगेलबीच फोन र एसएमएस आदान प्रदान भएको खुलेको थियो। श्रेष्ठ र ढुंगेलबीच महाराजगञ्जस्थित भेनस रेष्टुरेन्टमा भेट भएको समेत अनुसन्धानका क्रममा खुलेको थियो।