‘यौनिक तथा अल्पसङ्ख्यकका समस्यालाई पहिचान गरि समाधान गर्न तीन वटै सरकार गम्भीर हुनुपर्ने

रुपन्देही,वैशाख २४ । यौनिक तथा अल्पसङ्ख्यकलाई पहिचान दिलाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ । एक्लोलाई सहारा दिने वृक्ष समूहको आयोजनामा आज बुटवलमा भएको कार्यक्रमका सहभागीले पुरुष र महिला सरह यौनिक तथा अल्पसङ्ख्यकको अधिकार सुनिश्चित हुन नसकेकाले स्थानीय तहले त्यसप्रति सक्रियता देखाउनुपर्नेमा जोड दिएका छन् ।

 

पत्रकार विनोद पहाडीले ऐन कानूनले सम्बोधन गरे पनि कार्यान्वयन नहुँदा यौनिक तथा अल्पसङ्ख्यक समस्यामा परेको बताउनुभयो । उहाँले समस्या समाधानका लागि तीन वटै सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । यौनिक तथा अल्पसङ्ख्यक नेपालका केन्द्रीय अध्यक्ष मनिसा ढकालले संविधानमा उल्लेख भएका अधिकारसमेत सुनिश्चित हुन नसकेको गुनासो गर्नुभयो । उहाँले समुदायमा सचेतना बढाएर विभेद हटाउन जरुरी रहेको धारणा राख्नुभयो ।

 

नीलहिरा समाजका भूमिका श्रेष्ठले समाजका अन्य नागरिक सरह यौनिक तथा अल्पसङ्ख्यकलाई पहिचान दिलाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । एक्लोलाई सहारा दिने वृक्ष समूहका अध्यक्ष आनिक रानाले नागरिकता व्यक्तिको पहिचानसँग जोडिएको विषय भएकाले तेस्रो लिङ्गीलाई नागरिकतामा सहज पहुँच हुनुपर्ने धारणा राख्नुभयो । बुटवल नगरपालिकाका जनप्रतिनिधि महेन्द्र लिगल, टङ्क पराजुली, कमल थापा लगायतले यौनिक तथा अल्पसङ्ख्यकको समस्या समाधान र पहिचानका लागि प्रतिबद्धता जनाउनुभयो । रासस