भ्रष्टाचारको अन्त्य गरी समृद्धि नेपाल : गृहमन्त्री थापा

काठमाडौँ,बैशाख २९।गृहमन्त्री रामबहादुर थापाले देशमा भ्रष्टाचारको अन्त्य गरी सामाजिक न्याय र समानता कायम भएपछि समृद्धि प्राप्त हुने बताएका छन्।

बौद्ध दर्शन प्रवद्र्धन ताथ गुम्बा विकास समितिले आयोजना गरेको परिचयपत्र वितरण कार्यक्रममा उनले बौद्ध दर्शनको शिक्षाबाट समाजलाई नैतिकवान, अनुशासित र मर्यादित बनाउन सकिने तथा त्यसले शान्ति र स्थायित्व कायम भई समाजवाद कार्यान्वयन हुन सक्ने विचार व्यक्त गरे।

 

विश्वमा युद्धका लागि खर्बौ रुपैयाँ खर्च भइरहेकामा चिन्ता व्यक्त गर्दै मन्त्री थापाले हातहतियार तथा युद्धका लागि हुने त्यो रकम शिक्षा स्वास्थ्यमा लगानी भएमा धेरैको कल्याण हुने बताए।

बुद्धले तत्कालीन समाजमा व्याप्त असमानता, विभेदको अन्त्यका लागि शुरु गरेको बौद्ध दर्शनमा व्यवस्था गरिएका विचार र आदर्श समाजवादको नमूना भएको उनको भनाइ थियो ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले बौद्ध साहित्यको महत्व अहिले पनि बढेको बताए।बौद्ध दर्शनसम्बन्धी विभिन्न तहका अध्ययन पूरा गरेका गुरुलाई परिचय पत्र वितरण गरिएको थियो।