क्रान्तिकारी पत्रकार महासंघले सम्मेलन सकिएलगत्तै सडकमा,विरोध प्रदर्शन गर्दै जलायो मिडिया काउन्सील विधेयक

बुटवल,जेठ १९। क्रान्तिकारी पत्रकार महासंघले सम्मेलन सकिएलगत्तै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी सबै विधेयक, ऐन, कानुनका विरुद्ध सडकमा उत्रिएको छ ।

 

शुक्रबार सम्मेलन सम्पन्न गरेको क्रान्तिकारी महासंघले शनिबार बुटवलको मिडिया चोकमा विरोध प्रदर्शन गर्दै मिडिया काउन्सील विधेयकको प्रति जलाएको छ। क्रान्तिकारी पत्रकार महासंघका नव निर्वाचित अध्यक्ष इन्द्र राउत, उपाध्यक्ष टेकबहादुर मास्की, महासचिव रामकुमार श्रेष्ठ, सचिवद्वय रनसुर महतरा, अनु निरौला, कोषाध्यक्ष रवि पाण्डे लगायतका नेताहरुको समेत उपस्थितिमा मिडिया काउन्सील विधेयक जलाइएको हो ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष इन्द्र राउतले भने, “सरकारले ल्याएको मिडिया काउन्सीलका विरुद्ध अहिले सिंगो प्रेस जगत आन्दोलित छ र यसको नेतृत्व नेपाल पत्रकार महासंघले गरिरहेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण र निषेध गर्ने गरी ल्याइएको विधेयक फिर्ता हुनुपर्छ भन्ने मागप्रति हाम्रो संगठनको दृढ ऐक्यबद्धता रहँदै आएको छ । जारी यही आन्दोलनलाई सहयोग पु¥याउने उद्देश्यले हामीले मिडिया काउन्सील विधेयक जलाउने निर्णय गरेका हौं।

 

महासंघको सम्मेलन लगत्तै बसेको सचिवालयको बैठकले मिडिया काउन्सील विधेयक जलाउने, जारी नेपाल पत्रकार महासंघको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्ने, सम्मेलनको भाव सम्प्रेषण तथा अन्तक्र्रिया कार्यक्रम गर्ने,जनपक्षीय मिडिया सम्मेलन गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको थियो।