सार्वजनिक यातायातमा १२ प्रतिशतसम्म भाडा बढ्यो

काठमाडौं,जेठ ३०। सरकारले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ ।   छोटा तथा लामा दूरीका बस, मिनिबस, माइक्रोबस, ट्रक टेम्पो लगायत सबैखाले सार्वजनिक गाडीमा अधिकतम १२ प्रतिशतसम्म भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

 

वैज्ञानिक भाडादरको प्रावधानअनुसार सवारी साधनको मूल्य, इन्धनको मूल्य, गाडीका उपकरणको मूल्य, श्रमिकको ज्यालादरलगायतलाई आधार मानेर १२ प्रतिशत भाडा बढाइएको विभागले जनाएको छ ।

 

बिहीबार यायायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको विभागका प्रवक्ता तीर्थराज खनालले जानकारी दिनुभयो । अब असार १ गतेदेखि काठमाण्डौ उपत्यकाको सार्वजनिक सवारीको भाडा न्युनतम १६ रुपैयाँ पुगेको छ। विभागले ४ किलोमिटरलाई आधार मानेर न्युनतम भाडा तोक्दै आएको छ। यसअघि ४ किमीको १४ रुपैयाँ भाडा थियो।

 

विभागले ट्याक्सीमा समेत वैज्ञानिक भाडादर कायम गरेको छ। जसअन्तर्गत असार १ गते नै लागु हुनेगरी ट्याक्सी भाडामा फ्ल्याक डाउन प्रणाली लागु गरिनेछ। यो प्रणाली लागु भएपछि ट्याक्सी व्यवसायी तथा उपभोक्ता दुबैलाई राहत हुने विभागले जनाएको छ। यसअघि गएको असोजमा पनि सार्वजनिक गाडीको भाडा १० प्रतिशतले बढाइएको थियो ।