मौसमविद्को सुझाव : जीउ र बीउ जोगाउनुहोस्

काठमाडौँ, असार २७। मौसम पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा साताभर मेघ गर्जनसहित पानी पर्ने भविष्यवाणी गरेको छ । सक्रियता बढाउँदै गएको मनसुनले देशभर आफ्नो फैलावट बढाइसकेको अवस्थामा २५ जिल्लामा बढी पानी पर्ने भविष्यवाणी गरेको हो । यो बेला खाद्यान्नका बीउ र मानिसको जीउ जोगाउन सतर्क रहनुपर्ने मौसमविद्हरू बताउँछन् ।

महाशाखाले बिहीबार विशेष भविष्यवाणी गर्दै ती २५ जिल्लामा कहिले हल्का, कहिले मध्यम तथा कहिले भारी वर्षाको अवस्था रहने जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले शुक्रबारसम्म देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुने जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो, “भारी वर्षाले पूर्वी, मध्य क्षेत्रको पहाडी भेग र तटीय क्षेत्रमा बढी प्रभाव पार्ने हुँदा उच्च सतर्कता अपनाउनुपर्छ । विशेष गरी तराईका पर्सा, चितवन र आसपासका क्षेत्रका आकाश घना बादलले ढाकेको छ । ” उहाँले पश्चिमका दार्चुला, डडेलधुरा, कैलाली, कञ्चनपुरका क्षेत्रमा पनि लगातार वर्षाको सङ्केत गर्नुभयो ।

शुक्रबारदेखि पूर्वको झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र महोत्तरी क्षेत्रमा साताको सुरु र मध्यमा सामान्यदेखि पूर्ण बदली रहने र अन्त्यतिर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ । केही स्थानमा भने भारी वर्षा हुने अनुमान गरिएको छ । तराई छुने बारा, पर्सा, चितवन, रुपन्देही, बाँके र कैलाली क्षेत्रका केही स्थानमा भारी वर्षा र अन्यमा मध्यम तथा सामान्य वर्षासहित साताभरि वर्षा हुने छ । मध्य र पहाडी क्षेत्रका धनकुटा, सङ्खुवासभा, दोलखा, धादिङ र काभ्रेपालाञ्चोक जिल्लामा पनि साताभर वर्षाको प्रभाव कायम रहने छ ।

पश्चिमतिर कास्की, पाल्पा, रुकुम, दाङ, सुर्खेत र डोटीमा साताको सुरुमा मध्यम र सामान्य वर्षा रहे पनि केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने छ । हिमाली भेगका विभिन्न स्थानमा हिउँ पर्ने र हिउँ पहिरोको सम्भावना रहेको कँडेलले बताउनुभयो । जुम्ला, दार्चुला र मुस्ताङ क्षेत्रमा साताभरि नै मेघ गर्जनसहित वर्षा हुने छ ।

बिहीबार भारतबाट उत्तरतिर न्यूनचापीय प्रणाली सरेको छ । त्यो रेखा दिल्ली र कोलकाताका बीचमा हुनु पथ्र्यो, त्यतिमात्र हैन भारतको बिहार र उत्तर प्रदेशमा पनि न्यून चापीय क्षेत्र बढेकाले त्यो क्षेत्र छोएका ठाउँमा भारी वर्षा हुने कँडेलको विश्लेषण छ ।

बिहीबारदेखि तीन दिनसम्मको भविष्यवाणीमा भने महाशाखाले देशका अधिकांश स्थानमा पूर्ण बदली भई मध्य, पूर्वका अत्यधिक भूभाग र पश्चिमका केही स्थानमा भारी वर्षा हुने उल्लेख गरेको छ । यो साता साना खोलाका बाढी, सडक छेउका डाँडोबाट खस्ने पहिरो र हिलोले बाटो खराब हुने भएकाले सतर्कता अपनाउन कँडेलले आग्रह पनि गर्नुभयो ।

यात्रुहरूलाई सुझाव दिँदै कँडेल भन्नुहुन्छ, “बाटोमा बाढी पसेर सडक बिग्रँदा अवरोध हुनसक्छ । मौसमको ख्याल गरेर यात्रा गर्नुपर्छ । बाढी, पहिरो र अन्य विपत्तिबाट जोगिन पूर्वसूचना प्रयोग गर्नुपर्छ । 

उहाँले भनेझैँ यो साताको सक्रिय मनसुन कृषि क्षेत्रका लागि पनि अनुकूल र प्रतिकूल दुवै रहने कृषि मौसमविद् रामेश्वर रिमालले बताउनुभयो । उहाँले भन्नुभयो, “धान रोपिसकेको खेतमा पानीले भरिएको हुँदा भरसक मल र विषादी छर्नु हुन्न । ” उच्च पहाडमा भएका तरकारीका बिरुवालाई भने छाप्रो हालेर जोगाउनुपर्छ । वर्षे तरकारीको बेर्ना हुर्काउने मौसम रहेकाले दर्कने पानीबाट जोगाउन छाप्रो अनिवार्य हाल्न उहाँले किसानलाई सुझाव दिनुभयो ।

“भर्खरै भित्रिएको चैते धान र मकैको भण्डारणमा ख्याल नगरे कुहिएर खेर जाने अवस्था आउन सक्ने भएकाले हावा खेल्ने गरी राख्नुपर्छ”, उहाँले भन्नुभयो, “पानी परेकाले ओसिलोपना बढ्छ र ढुसी लाग्ने र कुहिने हुनसक्छ । ” तराईका होचो भूभागमा भने अन्न भण्डारणका लागि घरको माथिल्लो तला वा अग्लो भकारी प्रयोग गरी खाद्यान्न जोगाउन उहाँले सुझाउनुभयो ।

हालसम्म करिब ३० प्रतिशत धान रोपाइँ भएको छ । उहाँका अनुसार यस साताको सक्रिय मनसुनका भरमा धान रोपाइँ ५० प्रतिशत हाराहारी पुग्ने छ ।गाेरखापत्र दैनिकमा खबर छ।