१३ किमि यात्राको पाँच सय भाडा

 काठमाडौ, असार २९।डोल्पामा जिप व्यवसायीले सर्वसाधारणसँग मनपरी भाडा असुलेका छन् । सदरमुकाम दुनैदेखि सुँपानीसम्म १३ किमि सडकमा यात्रा गरेको भाडा पाँच सय रुपैयाँ छ । यो सडकमा एक दर्जन जिप चल्छन् । हेलिकोप्टर र तुइनबाट ल्याएर आन्तरिक रूपमा जिप सञ्चालन गरिएको हो । महँगो भाडा तिर्नुपर्दा यात्रु मर्कामा परेका छन् ।

 

‘सिंहदरबार गाउँ–गाउँमा आएको भने पनि धेरैजसो कामका लागि सदरमुकाम नै धाउनुपर्छ । दुनै आउन–जान एक हजार भाडा तिर्नुपर्छ, अरू खाना खाजा जोड्दा दुई हजार खर्च हुन्छ,’ त्रिपुरासुन्दरी नगरपालिका–१ का डल्लो कुलालले भने, ‘नेपाली सेनाले दुनैसम्मको सडक राम्रो बनाए पनि जिपको भाडा झन् बढाएको छ ।’ दुनैदेखि जुफालसम्म ९ किलोमिटरको मात्रै चार सय भाडा तिर्नुपर्छ ।

 

कर्मचारीका कारण पनि जिप भाडा महँगिएको सर्वसाधारणको गुनासो छ । कर्मचारीले धेरै पैसा दिएर रिजर्भ गर्ने भएकाले गाडी व्यवसायीले भाडादर बढाएको कुलालले बताए । 

 

दुनै–सुँपानी सडकमा जिप चलाउँदै आएका गोविन्द बिकले कच्ची बाटोमा क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएकाले भाडा महँगो लिनुपरेको बताए । ट्राफिक प्रहरीले क्षमताभन्दा बढी यात्रु नराख्न निर्देशन दिएको उनले बताए । ‘केही यात्रु थपेर चलाउन पाए भाडा सस्तो गर्न सकिन्थ्यो, ट्राफिक प्रहरीले सिट क्षमताभन्दा बढी राख्न दिँदैन, भाडा महँगो लिनु हाम्रो पनि बाध्यता छ,’ उनले भने । डोल्पामा पेट्रोलियम पदार्थ र पाटपुर्जा मगाउन पनि महँगो पर्ने भएकाले भाडादर महँगो भएको जिप व्यवसायी बताउँछन् ।

 

मनपरी भाडा उठाउँदा जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकार भने मौन छन् । दुनै–त्रिपुराकोट र दुनै–जुफाल खण्डमा भाडादर महँगो भएको गुनासो आएकाले आफू गम्भीर भएको प्रजिअ मुकेशकुमार केशरीले बताए । स्थानीय सरकार र व्यवसायीसँग छफल गरेर दुई हप्ताभित्रै भाडादर निर्धारण गर्ने प्रजिअ केशरीले बताए । नयाँपत्रिका दैनिकमा खबर छ।