घुसखोरप्रति अख्तियार आक्रामक

काठमाडौं,  साउन ७।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध आक्रामक कारबाही तीव्र पारेपछि पक्राउ परेका व्यक्तिका लागि अख्तियारको हिरासत अपुग भएको छ । अख्तियारको कारवाहीमा रंगेहात पक्राउ परेकाहरुलाई राखिदा अख्तियारको हिरासत भरिन पुगेको छ ।

 

आयोगले रंगेहात पक्राउ परेका २७ जनासँग अनुसन्धान गरिरहेको छ । १६ जना क्षमता भएको अख्तियारको हिरासत कक्षमा सोमबारसम्म २७ जना पुगेका छन् । रंगेहात पक्राउ गर्ने अख्तियारको काम निरन्तर चलिरहे पनि राख्ने ठाउँको अभाव रहेको अख्तियार स्र्रोतले जनाएको छ ।

 

‘हिरासत कक्ष खचाखच अभियुक्तहरूले भरिएका छन्, अख्तियार स्रोतले भन्यो, ‘अनुसन्धान प्रक्रिया सकेर मुद्दा दर्ता गर्ने तयारीमा छौं ।’ पछिल्लो समय रंगेहात पक्राउ पर्ने क्रम बढिरहेको बेला ठाउँको भने अभाव रहेको छ । मुद्दाको फाइलको चाङ धेरै छन्, क्रमबद्ध रूपमा मुद्दाको प्रक्रिया अगाडि बढाउने तयारीमा रहेको अख्तियारले जनाएको छ ।

 

हिरासतमा रहेका मध्ये १० जना इन्जिनियर रंगेहात घुससहित पक्राउ परेका छन् । बाँकी प्रहरी, स्थानीय प्रशासनका कर्मचारी र कार्यालय सहयोगीसम्म छन् असारयता अख्तियारले २० जना इन्जिनियर पक्राउ गरेकोमा १० जनाको अनुसन्धान प्र्र्रक्रिया पूरा भएको र बाँकी १० जना अनुसन्धानको घेरामा छन् । यो खबर राजधानी दैनिकमा छ ।