विदेशी बुहारीलाई नागरिकता कहिले

काठमाडौं, भदौ ११ । विदेशी बुहारीलाई तत्कालै अंगीकृत नागरिकता दिने–नदिने भन्नेमा दलहरूबीच विवाद कायमै छ। नेपाली नागरिकसँग बिहे गरी आउने विदेशी बुहारीलाई तत्कालै नागरिकता दिनुपर्ने मधेस केन्द्रित दलको अडान छ भने छिमेकी भारतको जस्तो ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने पक्षमा सत्तासीन नेकपा र विपक्षी कांग्रेस छन्।

 

वैवाहिक अंगीकृत नागरिकताको प्रावधानमा दलीय अडानका कारण संसद्को राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिले नागरिकता विधेयकमा अपूरो प्रतिवेदन समितिमा बुझाएको छ। सत्तासीन नेकपा सांसद विजय सुब्बा नेतृत्वको ९ सदस्यीय उपसमितिमा वैवाहिक अंगीकृत नागरिकताको प्रावधान र अंगीकृतका सन्तानलाई वंशजको नागरिकता दिने कि नदिने भन्नेमा पनि सहमति जुटेको छैन। उपसमितिले विवादित प्रतिवेदन मंगलबार समितिमा बुझाएको छ। अन्नपूर्ण पोष्टमा समाचार छ ।