सरकार माफियाको वरिपरि : कांग्रेस

काठमाडौं, भदौ १९ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको कम्युनिस्ट सरकार माफिया र कमभन्दा कम समयमा बिनापरिश्रम सम्पत्ति आर्जन गर्ने झुण्डको वरिपरि सीमित भएको आरोप लगाएको छ।

 

लामो समय बसी बुधबार सम्पन्न केन्द्रीय समिति बैठकपछि १७ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै कांग्रेसले यस्तो निष्कर्षसहितको आरोप लगाएको हो। रकारको डेढवर्षे कार्यकालले जनतालाई पूरै निराश बनाएको र समग्रमा वर्तमान सत्ता नियन्त्रण, निषेधमा आधारित एकदलीय मानसिकता र चरम शक्तिको केन्द्रीकरण र कुशासनको पर्याय बनेको टिप्पणी गर्दै उक्त प्रस्तावको प्रस्तावनामा भनिएको छ।

 

‘संस्थागत भ्रष्टाचार, राज्य संरचनाहरूको दुरूपयोग र राजनीतिकरण, महंगी, हत्या, हिंसा, बलात्कार, असुरक्षा र अशान्ति सामान्य कुरो भएका छन्। उच्च व्याजदर, उच्च कर र लगानीकर्ताहरूले कानुनी व्यवस्थालाई अनुसरणको साटो सरकारमा आसिनहरूको सेवा र शर्तमा ज्यादा ध्यान दिनुपर्ने वाध्यताले आन्तरिक र बाह्य लगानी निरुत्साहित भएको छ।’

 

यस्तै लोकतन्त्रविरोधी शक्तिहरू सरकारको असफलता र कमजोरीहरूलाई लोकतान्त्रिक व्यवस्थाको कमजोरीका रूपमा चित्रित गर्न तल्लीन भएको उल्लेख गर्दै उक्त प्रस्तावमा यस्तो परिस्थितिमा जनताले कांग्रेसको सशक्त भूमिकाको अपेक्षा गरेको दाबी गरिएको छ। बैठकले सरकारको कटाक्ष गर्दै विभिन्न १६ वटा आरोपसहित सरकारकै ध्यानाकर्षण गराएको छ। नेपाल समाचारपत्रमा खबर छ ।