क्षयरोग केन्द्रमा सीआईबीको छापा

काठमाडौं,असाेज ८।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सार्कस्तरीय कार्यालय ‘सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्र’ ठिमीमा सोमबार छापा मारेको छ।

 

त्यहाँ कार्यरत उपसचिव कृष्णबहादुर बस्नेतका शैक्षिक प्रमाणपत्र नक्कली भएको आशंकाका कारण छापा मारिएको सीआबी टोलीले जानकारी दिएको छ।

 

एसएलसीभन्दा माथिका सबै तहका प्रमाणपत्र नक्कली भएको र सोही कागजातका आधारमा प्रशासन प्रमुखको हैसियतमा पदोन्नति भई उपसचिवसरहको प्रशासन प्रमुख बनेका दोलखा फस्कुका बस्नेतका सम्बन्धमा यसअघि नै नेपाल समाचारपत्रलगायतका मिडियामा समाचार प्रकाशित भइसकेको थियो।

 

सीआईबीको टोली केन्द्रमा छापा मार्न आएपछि उनीहरूको निजी नम्बर प्लेटको स्कर्पियो गाडीलाई केन्द्रको मूल प्रवेशद्वारमै रोक्न लगाएर आरोपित बस्नेत लुकेका र टोलीलाई रोक्न केन्द्रकी अर्की अधिकृत मीना ढकाल आफै गेटमा पुगेको समेत स्रोतले जानकारी दिएको छ।

 

करिब आधा घण्टाको रस्साकस्सीपछि सीआईबीको टोलीले महानगरीय प्रहरी वृत्त थिमीको प्रहरी भ्यान बोलाएपछि केन्द्रको मूल प्रवेशद्वार खोलिएको थिमी प्रहरी स्रोतले जनाएको छ।

बस्नेतका प्रमाणपत्र नक्कली भएको प्रमाणका साथ सोही कार्यालयका कर्मचारीहरूले सीआईबी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, परराष्ट्र मन्त्रालय, सार्क सचिवालय, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रलगायतमा निवेदन दिएका थिए।

 

सीआईबीको टोलीले बस्नेतलाई जोगाउन ‘पावर’ प्रयोग गर्ने परराष्ट्र मन्त्रालयका एक सहसचिव र सार्क सचिवालयका कर्मचारीलाई पनि छानबिनको दायरामा ल्याउने टोलीले जानकारी दिएको छ।सीआईबी टोलीमा प्रहरी निरीक्षक वसन्त आचार्यसहित तीन सदस्य रहनुभएको थियो।नेपाल समचारपत्रमा खबर छ।