कृषि विकास बैङ्क प्रकरण: बैङ्क र प्रहरीको आआफ्नै दाबी

काठमाडौँ, असोज १० । कृषि विकास बैङ्क लहान शाखाबाट पाँच करोड पाँच लाख रुपियाँ सिस्टम ह्याक नभई चोरी भएको दाबी गरिएको छ । शाखाका कर्मचारीको युजर आईडी र पासवर्ड नम्बर चोरी गरी रकम चोरिएको बैङ्कले स्पष्ट पारेपछि प्रहरी र बैङ्कको कुरा बाझिएको छ ।

 

कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले युजर आईडी तथा पासवर्ड चोरी हुनुमा कर्मचारीलाई दोष देखाउँदै त्यसमा संलग्न शाखा प्रमुखसहित तीनजनालाई अनुसन्धानका लागि काठमाडौंँ झिकाइएको बताउनुभयो ।

 

यस घटनाको विस्तृत अनुसन्धान गर्न विभिन्न शाखा हेर्ने केन्द्रका प्रमुख विनोद कोइरालाको संयोजकत्वमा चार सदस्यीय टोली खटाइएको छ । सो टोलीको अनुसन्धानबाट युजर आईडी र पासवर्ड चोरी भए नभएको वा संलग्नता बारे प्रष्ट हुने छ ।

 

‘‘प्रहरीले भनेजस्तो सिस्टम नै ह्याक भएको देखिँदैन’’, उपमहाप्रबन्धक दीर्घ अर्यालले भन्नुभयो– ‘लहान शाखाको पनि ब्याजस्वरूप जम्मा भएको रकम ग्राहकको व्यक्तिगत खातामा सारेको देखिन्छ । यसमा ह्याकरभन्दा कर्मचारीको मिलिमतो हुन सक्ने देखिन्छ ।’’ शाखा प्रमुख र दुई अधिकृत गरी तीन जनालाई छानविनका लागि बैङ्कको केन्द्रीय कार्यालय काठमाडौँ तानिएको छ । शाखा प्रमुखले पनि दुई जना कर्मचारीको युजर आईडी र पासवर्ड चोरी भएको स्वीकारेका छन् ।

 

तर कसरी चोरी भयो प्रष्ट हुन सकेको छैन । नियमित बैङ्किङ कारोबारका क्रममा ‘लगइन’ नगरी खुला रहेको कम्प्युटरबाट आईडी र पासवर्ड कसैले चोरी गरेको हुन सक्ने देखिन्छ । लगइन नगर्नुमा कर्मचारीको नियत वा गल्ती छानविन हँुदैछ उहाँले थप्नुभयो, ‘‘नियत गलत देखिए हदैसम्मको कारबाही हुन्छ ।

 

तर महानगरीय प्रहरी अपराध महाशाखाले भने ब्याज सङ्कलनसम्बन्धी विवरण राख्ने कम्प्युटरको ‘सिस्टम’ नै ह्याक भएको दाबी गरेको छ । सिस्टम नै ह्याक गरेपछि अभियुक्तले चिरपरिचित एजेन्टमार्फत अन्य व्यक्तिलाई खाता खोल्न लगाई सिस्टमबाट रकम ट्रान्सफर गरेको देखिन्छ ।

 

‘यो सिस्टम ह्याकिङ नभएर के हो ?’ महाशाखाका प्रमुख सहकुल थापाले भन्नुभयो, ‘‘बैङ्कको सिस्टममा ह्याकर धेरै अघि पसिसकेको देखिन्छ । मुख्य युजर आईडी र पासवर्ड चोरी सकेपछि अन्यलाई खाता खोल्न लगाइएको थियो ।

 

हप्ता दिनको अन्तरमा पाँच करोड पाँच लाख रुपियाँमध्ये ६० लाख रुपियाँ झिकी सकेको र बाँकी रकम विभिन्न व्यक्तिको खातामा जम्मा हुनुका साथै आईएमई गरी पठाइदिएको देखिन्छ । उहाँले यसमा कि त बैङ्कका कर्मचारीको प्रत्यक्ष संलग्नता हुनुपर्छ या त ह्याकिङ नै हुनुपर्छ भन्नुभयो ।

 

सिस्टम ह्याकिङ प्राविधिक कुरा भएकाले यस विषयमा आफू पनि विज्ञ नभएको प्रष्ट पार्दै उहाँले थप्नुभयो, ‘‘अपरिचित व्यक्ति अज्ञात स्थानमा बसेर बैङ्कको रकम व्यक्तिगत खातामा ट्रान्सफर गर्छ भने यो सिस्टम ह्याकिङ हो नि ।

 

नयाँ बानेश्वरस्थित पानस रेमिटेन्सका कर्मचारीले खबर नदिएको भए धेरै ठूलो क्षति हुन्थ्यो । असोज ५ गते दिउँसो खबर पाएपछि प्रहरीले तत्कालै आठ जनालाई पक्राउ गरी ३१ लाख बरामद गरेको थियो भने चार जनालाई मङ्गलबार पक्राउ गरेको हो । एक जना बिहीबार पक्राउ परेका छन् ।

 

पक्राउ परेका आठ जनामध्ये नुवाकोटका लवाङ लामा तामाङ मुख्य एजेन्ट हुन् भने अन्य उनका सहयोगी हुन् । त्यस्तैँ, पाँचजना रकम निकाल्न जानेहरू छन् । अज्ञात व्यक्तिले खातामा पैसा पठाएको छु १० प्रतिशत कमिसन लिई बाँकी हुण्डी गरी भारत पठाइदिनुभनेका थिए ।

 

अफ्रिकी मूलका पिटर नामले परिचित मुख्य व्यक्तिको पहिचान भइसकेको प्रहरीले जनाएको छ । बारम्बार नेपाल–भारत आवात जवात गरिरहने भएकाले पिटरको लाहन शाखामा कार्यरत कुनै कर्मचारीसँंग परिचित हुनसक्ने अनुमान गरिएको छ ।

 

बैङ्कको अन्य सिस्टममा कुनै समस्या नभई एक अधिकृतले चलाउने कम्प्युटरको युजर नाम र पासवर्ड चोरी भएको जिकिर गरिएको छ । उक्त सिस्टम ‘रि–चेक’ गर्ने अर्का अधिकृत र शाखा प्रमुखको पनि लापरबाही देखिएको प्रहरीले जनाएको छ ।

 

ह्याकर भनिएका पिटरले युजर नाम र पासवर्डमा पहुँच पु¥याइसकेपछि एक महिनाको अवधिमा नयाँ तथा पुराना गरी पाँच सयभन्दा बढी ग्राहकको खातामा रकम जम्मा गरिसक्ने योजनामा थिए । यसरी, जम्मा भएको रकममध्ये १० देखि ३५ प्रतिशतसम्म कमिसन दिई बाँकी पठाउन निर्देशन दिँदै आएका थिए ।