विप्लव कार्यकर्ताको कुटपिटबाट गाउँपालिकाका अधिकृत घाइते

मुगु,असाेज १४। विप्लव समूह कार्यकर्ताको कुटपिटबाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घाइते भएका छन्।सदरमुकाम गमगढीबाट कार्यक्षेत्र जाँदै गर्दा विप्लव समूहका कार्यकर्ताको कुटपिटबाट उनी घाइते भएका हुन्।

 

सुर्खेतको चिनगाड १ स्थायी घर भएका सोरु गाउँपालिकाका अधिकृत ३५ वर्षीय परशुराम उपाध्य सोमबार बिहान नौ जनाको समूहमा आएका कार्यकर्ताले कुटपिट गर्दा घटनास्थलमै बेहोस भएका थिए।

 

उपाध्यको टाउको र शरीरमा गहिरो चोट लागेको छ।उनलाई बचाउन जाँदा आफूलाई पनि मास्क लगाएका दुईजनाले कुटपिट गरेको सोही गाउँपालिकाका कृषि शाखा प्राविधिक रतनलाल साहनीले जानकारी दिए।

 

उपाध्यको जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएको छ।उनको टाउकोमा ११ वटा टाँका लागेका छन्। थप उपचारका लागि नेपालगञ्‍ज रिर्फर गरिएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

 

पक्राउ गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर शाहले बताए।उपचारका लागि गृह मन्त्रालयसँग समन्वय गरी हेलिकप्टरबाट नेपालगञ्‍ज लैजाने तयारी भइरहेको शाहले बताए।अन्नपूर्णपाेष्टमा खबर छ।