झन् आकासियो प्याजको भाउ

काठमाडौँ, असोज १५। ‘प्याजको कति हो साहु जी १ आजसम्म १५० रुपियाँ हो तर भोलि कति पुग्छ थाहा छैन’ कीर्तिपुर चोकका तरकारी व्यापारी सन्तोष तामाङले मङ्गलबार बिहान प्याज किन्न आएका ग्रहाकलाई दिएको जवाफ हो यो ।

यसै पनि महँगिएको प्याज भारतका सञ्चारमाध्यमबाट आइतबार नेपालमा प्याज नपठाउने समाचार सार्वजनिक भएसँगै सोमबार बिहानैदेखि झनै महँगो भएको छ । यसको असर थोकदेखि खुद्रासम्म परेको छ । व्यापारीले यसअघि नै खरिद गरेर राखेको प्याजको समेत कृत्रिम अभाव गराएर महँगो भाउमा बिक्री वितरण गर्न थालेका छन् ।

हुन पनि गत वर्ष यो बेला प्रतिकेजी ३० रुपियाँ थोकमा पाइएको प्याज आइतबारसम्म प्रतिकेजी १०० रुपियाँसम्ममा थोकमा कारोबार भएको थियो भने मङ्गलबार थोक बजारमै पनि प्रतिकेजी १२० रुपियाँ पुगको छ । खुद्रा भाउ झनै मनपरी छ ।

कालीमाटीमा मात्रै दैनिक २२ देखि २५ टन प्याज भारतबाट आयात हुने गरेकोमा मङ्गलबार तीन टन मात्रै आएको व्यवसायीले बताएका छन् । व्यवसायीका अनुसार भारतबाट प्याज आउन ठप्प भएको छ तर भन्सारमा आइसकेका मात्रै आउने क्रममा रहेकाले फाटफुट आइरहेका छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेल कालीमाटी बजारमा मङ्गलबार तीन टन मात्रै प्याज आएकाले बजारमा यसको अभाव देखिएको बताउनुहुन्छ । दैनिक २२÷२४ टन प्याज आउने गरेको बजारमा तीन टन आउँदा त हामी भारतसँग मात्रै परनिर्भर रहेको र त्यहाँ रोक लगाएपछि बजारमा अभाव भएको उहाँको भनाइ छ । प्याज अन्य देशमा निर्यात गर्दा भारतमै महँगो भएको भन्दै भारतीय नागरिकबाट चर्को विरोध भएपछि भारत सरकारले त्यहाँको प्याज निर्यातमा रोक लगाएको छ । यसको प्रत्यक्ष असर नेपालमा परेको छ ।

हुन त नेपालमा खपत हुनेमध्ये जम्मा दुई प्रतिशत मात्रै यहाँ उत्पादन हुन्छ, बाँकी ९८ प्रतिशत विदेशबाट आयात हुन्छ । अहिले भारतबाटै प्याज महँगो भएर आएको छ, त्यसमाथि यहाँ व्यापारीले दोब्बरसम्म लिने गरेका छन् । तर, तरकारी बजारमा व्यापार गर्दै आएका ठूला व्यापारीले नै प्याजको भाउ कसले बढायो भन्ने बारेमा आफूहरू बेखबर रहेको रहेको बताउने गर्दछन ।

भाउ अझै चर्को हुनसक्ने

नेपालमा प्याज उत्पादनको सिजन सुरु भएको छैन । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । हाम्रोमा आठ÷दस दिनभन्दा धेरै प्याज भण्डारण गर्न पनि सकिन्न । त्यसैले अहिले खुद्रा १५० रुपियाँसम्म पुगेको प्याजको भाउ थप बढ्न सक्ने व्यापारी बताउँछन् । काठमाडौँमा दैनिक ५० टनको माग हुुने गरेकोमा देशकै बेलामा भाग बढेर झण्डै एक सय टनको माग हुन्छ ।

प्याज गोदाममा आकास्मिक अनुगमन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाली बजारमा प्याजको मूल्य एक्कासी बढेपछि कालीमाटीस्थित प्याज गोदामको आकास्मिक अनुगमन गरेको छ । विभागको अनुगमन टोलीले सोमबार कालीमाटीस्थित प्याज भण्डारण गरिएको गोदाममा अनुगमन गरेको हो । अनुगमनका क्रममा आइतबारको तुलनामा सोमबार प्याजको मूल्य बढाएर बिक्री गरेको भेटिएको थियो । विभागले ती प्याज व्यापारीको परिचय सार्वजनिक गरेको छैन । व्यापारीले मौज्दातमै रहेको प्याजको मूल्य बढाएर बिक्री गरिएको हो वा खरिद मूल्य नै बढी परेको हो भन्नेमा अनुसन्धान भइरहेको बताउनुभयो ।

अनुगमन टोलीले खरिद, बिक्री तथा मौज्दात विवरणसहित ती व्यापारीलाई विभागमा उपस्थित हुन निर्देशन दिएको छ । अस्वाभाविक रूपमा वृद्धि भएको प्याजको भाउले जनजीवन प्रभावित पारेको पाइएपछि विभागको टोली अनुगमनमा निस्किएको हो । अनुगमनका क्रममा व्यापारीले अवरोध गर्ने आशङ्कामा विभागको टोली ठूलो सङ्ख्यामा सुरक्षाकर्मी लिएर कालीमाटीस्थित तरकारी बजार पुगेको थियो ।

नेपालमा खपत हुने परिमाणमध्ये झन्डै ९८ प्रतिशत भारतका नासिक, कानपुर, इन्दौर, लखनउ, र सिमलालगायत स्थानबाट प्याज आयात हुन्छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷७६ मा अर्ब ६२ करोड २५ लाख रुपियाँ प्याज आयात भएको थियो । काठमाडौँ उपत्यकामा मात्रै यसको दैनिक २७० टन खपत हुन्छ ।