कहाँबाट आउँछन् अवैध हतियार

काठमाडौँ, मङ्सिर १०। मेडिकल कलेजहरूले विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलन चर्किरहेको बेला शुक्रबार चितवन मेडिकल कलेजको होस्टेल बाहिर चौरमा हतियार फेला प¥यो ।

त्यसको २० दिनअघि नेपालगन्जमा पनि बा १८ च ४२११ नम्बरको निजी कारबाट प्रहरीले हतियार बरामद ग¥यो । रेस्टुराँ नजिकै पार्किङमा राखेको सन्दीपजङ्ग शाहको कारको सिटमुनि हतियार रहेको विशेष सुराकीका आधारमा बरामद भएको दाबी प्रहरीको छ ।

विशेष सुराकीका आधारमा हतियार बरामद भएका यी दुई घटना रहस्मय छन् । प्रहरीले कसैलाई ‘फसाउन’ षडयन्त्रपूर्ण ढङ्गले हतियार राखेको हो वा साच्चै सुराकी लगाएर अवैध हतियार बरामद गरेको हो, अनुसन्धान जारी छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइराला मेडिकल कलेज हतियार कान्डका विषयमा चारजना सुरक्षागार्डमाथि अनुसन्धान भइरहेको बताउनुहुन्छ । तर विद्यार्थीहरू भने आन्दोलन दबाउन हतियारको षड्यन्त्र रचेको आरोप लगाएका छन् ।

नीलो रङ्गको झोलाभित्र मेड इन यूएसए लेखिएको एकथान पेस्तोल, त्यसमा प्रयोग हुने गोली, म्यागजिन, एसएलआर हतियारमा प्रयोग भइसकेको गोलीको खोका छ राउन्ड र डेटोनेटर तार बरामद घटना आफैमा रहस्यमय छ । प्रवेशद्वारमा सुरक्षागार्ड र चौरमा सीसी क्यामेरा हुँदा पनि प्रहरीले हतियार राख्ने व्यक्तिको पहिचान गर्न सकेको छैन । अज्ञात सुराकीले दिएको सूचनाका आधारमा झोलामा लुकाइराखेको हतियार बरामद गरेको प्रहरीले स्वीकारेको छ ।

 

त्यस्तै, नेपालगन्ज घटनामा पनि कारधनी सन्दीपजङ्गले दशैँ–तिहारमा खसी उपहार नदिएको रिसमा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले फसाउन हतियार लुकाइ दिएको आरोप लगाएका छन् । उक्त रहस्यमय घटनाका अभियुक्त सन्दीपजङ्गलाई जिल्ला अदालत बाँकेले पुर्पक्षाका लागि थुनामा पठाएको छ भने खसी मागेको आरोप लागेका प्रहरी नायव उपरीक्षक शाहलाई विभागीय कारबाहीको सिफरिस भएको छ ।

नेपाल प्रहरीका एक पूर्वअधिकारी खराब आचारण भएका प्रहरीले सर्वसाधारणलाई फसाउन यस्तो षडयन्त्र रच्न सक्ने बताउनुहुन्छ । हतियार बरामद हुने भनेको नियमित सुरक्षा जाँच तथा सुराकीका आधारमा नै हो । जबरजस्ती हतियार भिराई ‘हतियारसहित मान्छे पक्राउ परेको’ केही घटनामा स्वयम् प्रहरीको संलग्नता भेटिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखमा रमेश खरेल हुँदा ठमेलमा भएको घटना विवरण सुनाउँदै प्रहरी नायव निरीक्षक  सई  लाई कारबाही भएको स्मरण सुनाउनुभयो ।

 

तर केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेल प्रहरीबाट त्यस्तो अपराध हुनै नसक्ने बताउनुहुन्छ । ‘‘कहिलेकाहीँ प्रहरी अधिकारीले नै हतियार तथा लागूऔषध राखेर सर्वसाधारण फसाएको हल्ला सुन्नमा आउँछ तर त्यसमा सत्यता हँुदैन,’’ उहाँले थप्नुभयो । राष्ट्रिय मानव अधिकार आयोगको मानव अधिकार हनन्सम्बन्धी उजुरी शाखामा प्रहरीले हतियार तथा लागूऔषध जबरजस्ती राखी फसाइदिएको भन्दै पीडितका आफन्त निवेदन लिएर आयोगमा आउने गरेका पाइएको छ ।

 

आयोगका सूचना अधिकारी एवं निर्देशक डा.टीकाराम पोखरेल निवेदन आएको पुष्टि गर्नुभयो । तर निवेदनकै आधारमा यथार्थ हो भन्न नमिल्ने भन्दै उहाँले थप्नुभयो । ‘‘त्यस विषयमा अनुसन्धान हुन्छ, प्राप्त प्रमाणका आधारमा आयोगले सत्यतथ्य बाहिर ल्याउँछ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रत्येक वर्ष करिब छ सय अवैध हतियार बरामद हुने गर्छन् । तीमध्ये लामो हतियारको सङ्ख्या बढी छ । छोटो हतियारमा कटुवा पेस्तोल र स्वचालित पेस्तोल बढी भेटिने गरेको छ । चालू आर्थिक वर्षको असोजसम्ममा लामो ४२ थान, छोटो ३७ थान, गोली चार हजार ८६९ राउन्ड बरामद भएको छ । बरामद हतियारसँगै एक सय तीनजना पक्राउ परेका छन् ।

 

आर्थिक वर्ष २०७४÷७५ मा लामा एक सय २१ थान, छोटा ८७ थान र गोली ३३८ राउन्डसहित दुई सय २८ जना र आर्थिक वर्ष २०७५÷०७६ मा १९६ लामा र ९५ छोटा र दुई हजार २१८ राउन्ड गोलीसहित २५६ जना पक्राउ परेका छन् ।गारखापत्रदैनिकमा खबर छ।