भोली सार्वजनिक बिदा

काठमाडौं,मंसिर २५।बिहीबार हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदाय योमरी पूर्णिमा र ज्यापु दिवस मनाइदैँछ । 

पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी धान्यपूर्णिमा मनाउँछन् । यसैगरी नेवार समुदायले चामलको पिठोबाट बनाएको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा योमरी पूर्णिमा मनाउँछन् ।

 

योमरी पुन्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो । यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ । उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर योमरी चढाउने र त्यसलाई प्रसादका रुपमा खाने–खुवाउने चलन छ ।

 

नयाँ चामलको पिठोभित्र चाकु र तिल हालेर योमरी बनाइन्छ । यसलाई गणेश र कुमारको प्रतीकको रुपमा पनि पूजा गरिन्छ । यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ ।त्यसका लागि बिहीबार सरकारले सार्वजनिक विदासमेत दिएको छ ।