चल्ला उत्पादन ठप्प पारिने

चितवन,मङ्सिर २९ । कुखुराको मासु र चल्लाको मूल्यमा आएको गिरावटलाई रोक्न नेपाल ह्याचरी उद्योग सङ्घले १० दिनसम्म देशभर चल्ला उत्पादन ठप्प पार्ने भएको छ ।

नेपाल ह्याचरी उद्योग सङ्घको हालै चितवनमा सम्पन्न राष्ट्रिय भेलाले यस्तो निर्णय गरेको केन्द्रीय अध्यक्ष टीकाराम पोखरेल बताउनुभयो । उहाँले भन्नुभयो ‘‘विगत एक वर्षदेखि चल्ला, अन्डा र कुखुराको उत्पादन लागतसम्म नपाउने अवस्थालाई अन्त्य गर्ने यस्तो निर्णय गर्नुपरेको हो ।’’
देशभरका डेढ सयभन्दा बढी ह्याचरी उद्यमीको भेलामा उत्पादन बढी भएका कारण ह्याचरी सञ्चालकले चल्ला, कृषकले अन्डा र मासुको परलमूल्यसमेत पाउन नसकिरहेको अवस्थामा चल्ला उत्पादन रोक्नुपर्ने निर्णय गरेको उहाँको भनाइ छ ।

अध्यक्ष पोखरेलका अनुसार भेलाले मङ्सिर २९ गतेदेखि १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न मेसिनमा सेट गरिएका अन्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढी उमेरका माउ प्यारेन्ट बिक्री गर्ने र पोल्ट्रीमा देखापरेका समस्या समाधानका लागि सहयोग गर्न सरकार र वित्तीय संस्थासँग पहल गर्ने निर्णयसमेत गरेको छ ।

यसरी १० दिनसम्म ह्याचरीबाट चल्ला नकिल्दा ६० लाख चल्लाको उत्पादन रोकिन्छ । ती चल्लाबाट ३५ देखि ४० दिनको अवधिमा एक करोड २० लाख किलोग्राम मासु उत्पादन हुनसक्थ्यो । नेपालमा प्रतिहप्ता ४५ लाख ब्रोइलर चल्ला उत्पादन हुने गरेको अनुमान छ । त्यसैगरी ५० हप्ताभन्दा माथिका प्यारेन्ट बिक्री गर्दा प्यारेन्ट कुखुरामा ७५ हजारदेखि एक लाखको सङ्ख्यामा कमी आउने अनुमान ह्याचरी उद्योग सङ्घको छ । हाल नेपालभर कुल २१ लाख प्यारेन्ट भएको बताइन्छ ।

नेपालका सातवटा प्रदेशमध्ये कर्णाली प्रदेशबाहेक सबैमा ह्याचरी रहेका र ती सबैमा चल्ला र अन्डा नष्ट गर्ने अभियान सञ्चालन गरिएको पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १ मा प्रतिहप्ता दुई लाख, प्रदेश २ मा प्रतिहप्ता तीन लाख, प्रदेश ३ मा प्रतिहप्ता २७ लाख, गण्डकी प्रदेशमा प्रतिहप्ता चार लाख, प्रदेश ५ मा छ लाख र सुदूरपश्चिम प्रदेशमा एक लाख ५० हजारको सङ्ख्यामा ब्रोइलर चल्ला उत्पादन हुँदै आएको छ ।

पछिल्लो समय दानामा प्रयोग गरिने कच्चा पदार्थ नेपाल बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ भने पछिल्लो समयमा सरकारले कच्चा पदार्थको आयातमा भन्सार दर वृद्धि गरिदिँदा नेपालमा दानाको मूल्य आकासिएको हो । नेपालमा कुखुरापालन क्षेत्रमा एक खर्ब २० अर्ब रुपियाँ लगानी भएकोमा त्यसको आधाभन्दा बढी ह्याचरीमा मात्र लगानी भएको अनुमान छ । लगानीमध्ये ५० प्रतिशत बैङ्क र वित्तीय संस्थाको लगानी छ । यस क्षेत्रमा एक लाख ८० हजार जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । पोल्ट्री क्षेत्रले नेपालकोे कुल गार्हस्थ उत्पादनको चार प्रतिशत योगदान रहेको अनुमान गरिएको छ ।यो समाचार गोरखापत्रदैनिकमा छ।