काँग्रेसभित्र शक्ति सङ्घर्ष पौडेल समूहद्वारा बैठक बहिष्कार

काठमाडौँ, मङ्सिर ३० । नेपाली काँग्रेसभित्र अब हुने १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र रूपमा बढेको छ । आगामी फागुनमा चारवर्षे कार्यकाल सकिन लाग्दा संस्थापन पक्ष र अर्को पक्षबीच शक्ति आर्जन गर्ने होडबाजीमा शक्ति सङ्घर्षले उचाइ लिएको हो ।

 

संस्थापन पक्ष अरू एक वर्ष अवधि थप्न चाहन्छ भने अर्को पक्ष कार्यतालिकासहित महाधिवेशन गराउने सर्तमा मात्रै अवधि थप्नुपर्ने अडानमा छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने पक्षमा चर्को दबाब दिँदै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकलाई बहिष्कार गरेको छ ।

 

अघिल्लो बैठकमा पौडेल पक्षका दुई नेता आएर महाधिवेशनको कार्यतालिका आउनुपर्ने अडान राख्दै बाहिरिए पनि आइतबारको बैठकमा कोही पनि उपस्थित हुनुभएन । त्यति मात्र होइन, केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा वरिष्ठ नेता पौडेल भने उपत्यकाबाहिर हुनुहुन्छ । कुल ८४ सदस्यीय कार्यसमितिको बैठकमा बहुमत सदस्य उपस्थित हुनुभएको जानकारी पार्टी सचिवालयले दिएको छ ।

 

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयमा छलफल गरी निर्णय पनि सार्वजनिक गरेको छ तर सङ्गठनलाई दूरगामी असर पर्ने खालका निर्णय भने गरिएको छैन । बैठकमा उपसभापति विमलेन्द्र निधिले शनिबार राति दुवै पक्षबीच भएको छलफल सहमतिनजिक पुगिएको जानकारी गराउनुभएको थियो । सभापति देउवाले उपसभापति निधिलाई सहमतिको वातावरण बनाउने जिम्मेवारी सुम्पनुभएको छ ।

 

यसैगरी उपसभापति विजयकुमार गच्छदार एवं केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँण र रमेश लेखकले सरकारका गतिविधि, सङ्घीय संसद्को अधिवेशन, उपनिर्वाचनको नतिजा, पार्टीका गतिविधिका बारेमा बैठकलाई जानकारी गराउनुभएको थियो । बैठकपछि गोरखापत्रसँग कुरा गर्दै केन्द्रीय सदस्य खाँणले काँग्रेसमा सहमति जुट्छ र एकढिक्का भएर अगाडि बढ्छ, त्यसका लागि छलफल चलिरहेको जानकारी दिनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।