सन् २०१९ लाई फर्किएर हेर्दा

काठमाडौ, पुस १५ । मंगलबार मध्यरातबाट अंग्रेजी क्यालेन्डर अनुसार २०१९ साल विदा भएर २०२० शुरू हुँदै छ । सन् २०१९ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाभियोग प्रस्तावदेखि भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको पुनरागमनपछिको राजनीतिक घटनाक्रम र उब्जिएको परिस्थितिले वर्ष २०१९ चर्चामा रह्यो । नेपालमा भने चिनियाँ राष्ट्रपतिको भ्रमणले वर्ष २०१९ लाई ऐतिहासिक बनायो ।

२०१९ का चर्चित राजनीतिक घटनाक्रम

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण

करीब २३ वर्षपछि उत्तरी छिमेकी राष्ट्र चीनका राष्ट्रपतिको राजकीय भ्रमणले विश्व मीडियाको ध्यान नेपालतर्फ सोझियो । राष्ट्रपति सी चिनफिङ्गले १२ र १३ अक्टोबरमा गर्नुभएको नेपाल भ्रमणले नेपाल र चीनबीचको मित्रतामा नयाँ अध्याय सुरु भएको बताइन्छ । नेपालले चीनियाँ राष्ट्रप्रमुखको भ्रमणले आर्थिक समृद्धि र द्विपक्षीय सम्बन्ध बिस्तारमा दीर्घकालीन महत्व राख्ने अपेक्षा राखेको छ ।

बेलायतमा ब्रेक्जिट सम्झौताको पक्षमा जनमत

बेलायतमा प्रधानमन्त्री बोरिस जोनसोनको कन्जरभेटिभ पार्टीले संसदीय निर्वाचनमा बहुमत पाएपछि यूरोपियन यूनियनबाट बाहिरिने निर्णय अनुमोदन भएको छ । संसदबाट प्रधानमन्त्रीको प्रस्ताव अनुमोदन भएपछि बेलायत आगामी जनवरी ३१ मा ईयूबाट औपचारिक रुपमा बाहिरिनेछ । प्रधानमन्त्री थेरेसा मेले बहुमत गुमाएपछि बेलायतको राजनीतिमा छाएको अस्थिरता २०१९ को संसदीय चुनाबसँगै सकिएको छ ।

मोदीको पुनरागमन, राहुल गान्धीको राजिनामा

भारतमा भारतीय जनता पार्टीले स्पष्ट बहुमत ल्याएपछि नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि भारतका प्रधानमन्त्री चुनिनुभयो । अप्रिल–मई महिनामा सम्पन्न ५४३ लोकसभा सिटमध्ये बीजेपीले ३०३ सिटमा जितसँगै स्पष्ट बहुमत पायो । क्षेत्रीय दल सम्मिलित बीजेपी गठबन्धनले ३५३ सांसदको समर्थन प्राप्त गर्यो । फलस्वरुप भारतीय काँग्रेसका राहुल गान्धीले हार स्वीकार्दै अध्यक्ष पदबाट राजिनामा दिनुभयो ।

जापानी सम्राटको राजगद्दी त्याग

जापानका सम्राट अकिहितोले स्वेच्छाले राजगद्दी त्याग्नुभयो । जुन २०० वर्षभन्दा बढीको इतिहासमा सम्राटले राजगद्दी त्यागेको पहिलो अवसर हो । अकिहितोले राजगद्दी त्यागेपछि उहाँका छोरा ५९ वर्षका नरुहितो जापानको राजगद्दी सम्हाल्न पुग्नुभयो ।

भारतमा एकपछि अर्को ‘सरप्राइज’

भारतमा नरेन्द्र मोदीको पुनरागमनपछि एकपछि अर्को दीर्घकालीन महत्वको राजनीतिक निर्णयहरु लिइयो । ५ अगष्ट, २०१९ मा जम्मु काश्मिरलाई विशेष दर्जा दिइएको संविधानको धारा हटाउने निर्णय गरियो । र केही महिनाकै अन्तरालमा नागरिकता संशोधन कानून ल्याइयो । नागरिकता संशोधन कानुनको देशब्यापी विरोध प्रदर्शन यथावत् छन् । करीब २० जनाभन्दा बढीको उक्त विरोधमा मृत्यु भइसकेको छ । गोरखापत्रदैनिकमा खबर छ।

त्यसअघि प्रधानन्यायाधीश एस गोगई नेतृत्वको पाँच सदस्यीय बेञ्चले ९ नोभेम्बर, २०१९ मा बाबरी मस्जिद दाबी गरिएको स्थानमा श्रीरामको जन्मस्थल रहेको फैसला सुनाउँदा करीब पाँच दशकभन्दा बढी समयदेखिको धार्मिक विवाद अन्त्य हुने अपेक्षा गरिएको छ ।

श्रीलङ्कामा दाजुभाईको सत्तारोहण

विश्व राजनीतिमा यस्ता दुलर्भ घटना बिरलै दोहोरिने हो । नोभेम्बर १७ मा आएको चुनाबी परिणाममा ५२ प्रतिशत मत ल्याएर पूर्व सैन्य प्रमुख गोटावया राजापक्षे राष्ट्रपतिमा निर्वाचित हुनुभयो । उहाँ निर्वाचित भएसँगै प्रधानमन्त्री रणेलविक्रमासिंघेले राजिनामा दिनुभयो । र गोटावयाले आफ्ना दाई एवम् पूर्व राष्ट्रपति महिन्दा राजापक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभयो ।

अमेरिकी राष्ट्रपतिमाथि महाभियोग पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोगि लगाउने प्रस्ताव तल्लो सदन हाउस अफ रेप्रजेन्टेटिभले पारित गरेको घटनाले ट्रम्पको प्रतिष्ठासँग जोडियो । शक्ति दुरुपयोगमा १९ डिसेम्बरमा तल्लो सदनमा १९७ मतको विरुद्ध २३० मतले उहाँमाथिको प्रस्ताव पारित गरियो । माथिल्लो सदनमा रिपब्लिकनको बहुमत रहेकोले पदमुक्त हुने सम्भावना नरहेपनि अमेरिकी इतिहासमा महाभियोग सामना गर्ने ट्रम्प तेस्रो राष्ट्रपति बन्ने हुनुभयो । यसअघि एन्ड्रयु जोन्सन र बिल क्लिन्टनले महाभियोग सामना गर्नुभएको थियो ।

मुशरर्फलाई मृत्युदण्ड

डिसेम्बर १७ तारेखमा पाकिस्तानको एक अदालतले पूर्व राष्ट्रपति एवम् पूर्व सैन्य प्रशासक जनरल परवेज मुशरर्फलाई मृत्युदण्डको सजाय सुनायो । सैन्य शासनको इतिहास रहेको पाकिस्तानमा पूर्व सैन्य शासकविरुद्ध सजाय गरिएको यो पहिलो अवसर हो । २००७ मा संविधान विपरित कदम चालेको आरोपमा मुशरर्फलाई अदालतले दोषी ठहर गरेको हो ।

विश्वकै कान्छी प्रधानमन्त्री

फिनल्याण्डले विश्वकै कान्छी प्रधानमन्त्री चयन गरेर २०१९ को चर्चित राजनीतिक घटना बनायो । सान मरिन ३४ वर्षकै उमेरमा फिनल्याण्डको प्रधानमन्त्री चयन हुनुभयो । अघिल्लो सरकारमा यातायात मन्त्री रहेकी सान मरिनले चार अन्य पार्टीको महिला नेतृकै नेतृत्वमा गठबन्धनको सरकारको नेतृत्व गर्नुभएको छ ।

पूर्व राष्ट्रपतिको अदालतमै मृत्यु

इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको १७ जुन, २०१९ मा अदालतमा बयान दिने क्रममा ढलेर मृत्यु भयो । हृदयघातको कारण उहाँको मृत्यु भएको थियो । अरब क्रान्तिपछि सन् २०१३ मा इजिप्टका राष्ट्रपति निर्वाचित हुनुभएका मोर्सी सत्ता सम्हालेको वर्षदिनमै सेनाबाट अपदस्थ हुनुभयो । प्रतिबन्धित मुश्लिम ब्रदरहुडका नेता समेत रहनुभएका मोर्सीमाथि जासुसीको आरोप लगाइएको थियो ।