पशुपति साहित्य समाजले प्रथम वार्षिकोत्सव भव्यताको साथ मनायाे

पशुपति साहित्य समाजले प्रथम वार्षिकोत्सव भव्यताको साथ मनाएको छ ! पशुपति बहुमुखी क्याम्पसका प्राध्यापक तथा वरिष्ठ कवि नारायण नेपालको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो ! कार्यक्रम औपचारिक र अनौपचारिक गरि दुई चरणमा गरिएको थियो ! पहिलो चरणमा विशेष वाचन भएको थियो जसमा चोनाङ रोदुङले कविता, मिरा सङ्कल्पले मुक्तक, उज्ज्वल “उजागर” गौतम र अर्पना आपागाईले गजल वाचन गरेका थिए भने दोस्रो चरणमा अन्य रचनाहरु वाचन भएका थिए ! कार्यक्रममा क्याम्पस र क्याम्पसबाहिरका व्यक्तिहरुको समेत राम्रो उपस्थिति थियो ! कार्यक्रम प्रत्येक महिनाको पहिलो शनिबार हुनेकुरा पशुपति साहित्य समाजका सदस्यहरुले जानकारी दिएका थिए ! उक्त कार्यक्रममा वाचन भएका केही रचनाहरु !!!

**कबिता “रासिन्चिये” (चोनाङ रोदुङ)**
तिमी जस्तै म पनि
विवशताले डोर्‍याएको बाटो हिँड्दै छु
अफसोस् ! तिम्रो विवशता र मेरो विवशता एउटै होइन !
तिमी जस्तै म पनि
यो पर्खालले छेकेको
मा…थीको आकाश हेर्दै छु
तर तिमिले देखेको आकाश र मैले देखेको आकाश एउटै होइन-
केवल हामी उभिएको धरातल साझा हो !

हिजो जुन समयले हामीलाई भेटाउन
यत्रो ठूलो नाटक खेलायो
आज त्योभन्दा ठुलो षड्यन्त्र रच्दै छ-
हामीलाई छुटाउन !
मलाई विश्वास छ-
म जस्तै तिमी पनि
बिचलित हुने छैनौ !
बरु (खहरे) खोलाजस्तै बग्ने छौँ
र फेरि भेटिने छौँ
आखिर हामीले बग्ने धरातल साझा हो !

जिन्दगीले दुवाली काट्न सक्छ
परिबन्दले बाटो मोड्न सक्छ-
जता जता बगे पनि-
बग्दा बग्दै जहाँ पुगे पनि-
बगरै भरि दर्शन ढुङ्गाहरु मिल्काउँदै जानू
(म पनि त्यसै गर्ने छु)
कतै सेतो-सेतो ढुङ्गा देखेँ भने म पछ्याउँदै आउने छु
(तिमी पनि त्यसै गर्नु)
मभन्दा धेरै अघि पुगेँ जस्तो लाग्यो भने
कहिँ कतै तलाउ बनेर बिसाउनु
म बादलबाट बर्सिएर
तिमी छेउ
आहाल बन्न आउने छु !

बग्दै जाँदा
बगर छेउछाउ तरुण-तपस्वीहरु भेटिए भने
बिरह गाइ रहेका न्याउलीहरु सुनिए भने
तिनलाई हाम्रो कथा सुनाउनु
(म पनि त्यसै गरुँला)
म न्याउलीको गीत सुन्दै त्यतै त्यतै बग्ने छु
(तिमी पनि त्यसै गर्नु )
समुद्रमा मिसिएर हाम्रो अस्तित्व मेटिनु अघि-
हामी कसैको कवितामा लेखिएर अमर बन्नु पर्छ
सबैको प्रेमगीतमा गाइएर अजर रहनु पर्छ !
सायोनारा !!!

**मुक्तक (मिरा “सङ्कल्प”)**
के छ त्यस्तो खाना भित्र के छ पानीमा?
परिवर्तन ल्याउने कि ! आफ्नै बानीमा
शताव्दीले आज एक्काइस फन्को मारे पनि
कोठा दिन जात सोध्छन् अझै “राजधानी” मा !

सिमा वारी करेसामा साग लाए छोड्ने छैनौॅ
साग रोप्ने जमिनमा दाग लाए छोड्ने छैनौॅ !
जहाॅ पुग लुक्न “चाहे आकाश चाहे पातल”
दुस्मन सामू यो देशलाई भाग लाए छोड्ने छैनौॅ !

**गजल (उज्वल “उजागर” गौतम)**
फिर्ता त्यही बट्टा मा मुटु दिन सक्छु
तिम्रो गुलाफको सट्टा मा मुटु दिन सक्छु

माया कति गर्छौ भनी नजिस्क्याउ मलाई
कुनै दिन ठटै ठट्टामा मुटु दिन सक्छु

तिम्रा हात का स्पर्श गराई रहन्छौ भने
खेल्न तिम्लाई गट्टा मा मुटु दिन सक्छु

जुन दिन मेरो दिलबाट अवकाश लिन्छौ
तिम्लाई पेन्सन पट्टा मा मुटु दिन सक्छु

ताजमहल बन्छ भने हाम्रो प्रेमनिशानिको
म त्यो ईट्टा भट्टा मा मुटु दिन सक्छु

नुहाउदा तिम्रो पिना मा नै बसाउने गरि
त्यो तोरि पेल्ने घट्टा मा मुटु दिन सक्छु

**गजल (अर्पणा आपागाई “अनुराग”)**
डर लाग्छ अचेल उडेको विमानसङ्ग
आत्मीय सम्बन्ध राखेछ चिहानसङ्ग

मेरै बुबाको नजर गिद्दे पर्यो म माथी
अब म के गुनासो गरुँ संविधानसङ्ग

म चढ्छु मित्र खुट्टा तानेर लडाउछ्न
मलाई मिलाईदिन खोज्छन रछ्यानसङ्ग

मुर्दा खरानी बन्ने डरले डराएका छैनन
हामी व्यर्थै डराईरहेछौ जाबो शैतानसङ्ग

पत्थरलाई मन्दिरमा सजाएको देखेदेखी
विश्वास लाग्न छोड्यो मलाई भगवानसङ्ग

पशुपति साहित्य समाजको प्रथम वार्षिकोत्सव कार्यक्रम विद्यार्थीहरुकै सक्रियतामा सम्पन्न भएको थियो भने विद्यार्थी संगठनहरुको समेत महत्त्वपूर्ण सहयोग रहेको थियो ! उक्त कार्यक्रम भावना कार्की र हिरा राईले सन्चालन गरेका थिए !