अझै पनि ३९ हजार शिक्षक दरबन्दी अपुग,शिक्षा मन्त्रीकाे भन्छन्,चैतभित्रमा शिक्षक दरबन्दी पुर्ति गर्छु

काठमाडौँ,फागुन १६। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा यही चैतभित्रमा अपुग शिक्षक दरबन्दी पुर्याइने बताएका छन् ।

 

जनविकास माध्यमिक विद्यालयको ४१औँ वार्षिकोत्सव कार्यक्रममा उनले धेरै विद्यालय खुलेकाले ३९ हजार शिक्षक दरबन्दी अभाव रहेको जानकारी गराउँदै चैतभित्र दरबन्दी पु¥याइने बताए ।

उनले स्थानीय तहबाट ती अपुग दरबन्दी सिर्जना गरिने जानकारी गराए । उनले विद्यालयमा सरकारले बजेट मात्र दिएर राम्रो नहुने भन्दै विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षा दिनुपर्नेमा जोड दिए ।

 

सामुदायिक विद्यालयमा विद्यार्थी पढ्न आउन तयार रहेकाले वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । मन्त्री पोखरेलले आफ्नो विद्यालय राम्रो बनाउने काम शिक्षकको नै रहेको बताए ।

 

विद्यालयकी प्रधानाध्यापक सीताकुमारी ढकालले अङ्ग्रेजी र नेपाली दुवै माध्यममा विद्यार्थी पढाइ हुने भएकोले विद्यार्थीको आकर्षण रहेको बताइन् । विसं २०३५ मा स्थापना भएको विद्यालयमा अहिले कक्षा १२ सम्म पठनपाठन हुन्छ ।