सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोक्न अन्तरिम आदेश

काठमाडौँ,फागुन १९ । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न तत्काल अत्यावश्यक कदम चाल्नु भनी सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

 

अधिवक्ता पूर्ण राजवंशीले आइतबार कोरोनाको संक्रमण नियन्त्रका लागि अत्यावश्यक उपायहरु तत्काल अपनाउनु पर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए । उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, स्वास्थ्य मन्त्रालयसहितलाई विपक्षी बनाएर दायर गरेको रिटमा न्यायाधीश तेजबहादुर केसीको इजलासले सुनुवाई गर्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेका हुन् ।

 

चीनमा महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वका ५७ भन्दा बढी देशमा फैलिएको छ । कोरोना भाइरसको संक्रमणबाट चीनमा सबैभन्दा धेरै दुई हजार ९ सय १२ जनाको ज्यान गएको छ । गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोनाबाट सोमबार विहानसम्म तीन हजार ५३ जनाको मृत्यु भइसकेको छ ।

 

नेपालमा एक जनालाई संक्रमण पुष्टि भए पनि उनी उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना भाइरसको संक्रमण फैलन नपाओस् भनी सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई स्थगित गरिसकेको छ ।