भारतले आइतबारदेखि सीमानाका बन्द गर्ने निर्णय

धनगढी,चैत्र १। भरतले कोरोना भाइरसको विश्वव्यापी महामारी रोक्न आइतबार राती १२ देखि लागू हुने गरी नेपालका सीमानाका बन्द गर्ने निर्णय गरेको छ। भारतले नेपालका चारसहित चार मुलुकका २० नाकाबाट विदेशी यात्रुहरूको आवागमन बन्द गर्ने जनाएको छ।

 

नेपाल जोडिएका उत्तराखण्डको बनबासा, उत्तर प्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगन्ज नाकाबाट यात्रु ओहोरदोहोर बन्द गरिने उल्लेख छ।

 

भारतीय कूटनीतिक स्रोतका अनुसार नेपालबाट भारत जाने तेस्रो मुलुकका यात्रुलाई मात्रै बन्देज लगाइनेछ। नेपाली नागरिकको हकमा यसले फरक पर्दैन। भारतद्वारा जारी सातबुँदे सूचनाको चौथो बुँदामा भनिएको छ।

 

नेपाल र भुटानका सीमा नाकाहरूका सन्दर्भमा हवाईमाध्यमबाट वा उल्लेखित(बनबासा, सुनौली, रक्सौल र रानीगन्ज) नाकाहरूको एकीकृत जाँचबाट आवागमनमा यो नियमले केही प्रभाव पार्ने छैन्।

 

यी नाकामा स्वास्थ्य जाँचको बन्दोबस्त गरिएको पनि भारतीय सूचनामा उल्लेख छ। शुक्रबार जारी सूचनामा बनबासा, सुनौली, रक्सौल र रानीगञ्ज नाकाबाट मात्रै नेपाली र भारतीय नागरिकको आवागमन उल्लेख छ।

 

नेपालले भारतलाई जोगबनी र रुपेडिया नाकाबाट पनि आवागमनका लागि सहयोग गर्न कूटनीतिक च्यानलमार्फत आग्रह गरेको छ। यीबाहेकका नाकाबाट नेपाली र भारतीय नागरिकलाई ओहोरदोहोरका लागि कोरोना नियन्त्रण नभइन्जेलका लागि रोक लगाइनेछ।