साउदी अरबमा नेपालीलाई प्रतिवन्ध

काठमाडौँ ,चैत ३ । कोरोनाका कारण नेपालका श्रम गन्तव्य सीमित हुँदै छन् । कतारपछि साउदी अरेबिया सरकारले आइतबारदेखि नयाँसहित नेपालमा बिदामा आउने र बिदा मनाएर फर्कने नेपालीलाई रोक लगाएको छ ।
आइतबारबाट साउदी अरब सरकारले २ हप्ताका लागि आवतजावतमा रोक लगाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

 

श्रम गन्तव्यमा कोरोना संक्रमण बढ्दै गएपछि बिदामा आइ भिसाको म्याद सकिन लागेका नेपाली गन्तव्य मुलुक फर्कन नपाएर रोजगारी नै गुम्ने अवस्थामा पुगेको छन । यसैगरी बिदामा आएकाहरूले पनि श्रम स्वीकृति नवीकरण गर्न सकेका छैनन् । यसैगरी वैदेशिक रोजगार व्यवसायीले यो समयमा ल्याएका रोजगार भिसाको म्याद समाप्त हुने अवस्थामा रहेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजीत श्रेष्ठले बताए ।

 

उनका अनुसार श्रम गन्तव्यमा लामो समयसम्म कोरोनाको संक्रमण रहे ३५ हजार भिसोको म्याद सकिने छ । श्रम गन्तव्यबाट नयाँबाहेक नै दैनिक ५ सय नेपाली बिदामा आउने र सोही संख्यामा बिदा मनाए फर्कर्ने नेपालीमा प्रत्यक्ष प्रभाव परेको छ ।

 

साउदीस्थित नेपाली दूतावासले सूचना सार्वजनिक गरेर कोरोना भाइरस संक्रमितहरूको संख्या साउदी अरबमा पनि दिनानुदिन बढ्दै गइरहेको सन्दर्भमा साउदी सरकारले आइतबारबाट हवाई सेवा स्थगन गरेको जनाएको छ ।

 

“साउदी सरकारको हवाइ सेवा बन्द गर्ने निर्णयका कारण साउदी फर्कन नसक्नेहरूका लागि २ हप्ताको विशेष विदा दिने निर्णय गरेको पनि साउदी सरकारले जारी गरेको सूचनामा उल्लेख छ, नेपाली दूतावास साउदी अरेबियाले जारी गरेको सूचनामा उल्लेख छ,।

 

तसर्थ, आगामी दुई हप्ताका लागि साउदीमा रहनुभएका नेपाली नागरिकहरू घर विदामा नेपाल जाने तथा घर विदामा नेपालमा रहेकाहरू नेपालबाट साउदी आउन सक्ने अवस्था नरहेको व्यहोरा अनुरोध छ ।”यो समाचार आजको कारोबार दैनिकमा छ।