गाडीभन्दा हवाईजहाजको तिन सय भाडा सस्तो

काठमाडौं,चैत्र ३ ।कोरोना भाइरसका कारण यात्रुको संख्यामा उल्लेख्य कमी आएपछि पर्यटकीय नगरी पोखरामा स्वदेशी मात्रै होइन विदेशी पर्यटकको पनि उत्तिकै आकर्षणको गन्तव्य हो ।पोखराको सुन्दरता नियाल्न हरेक दिन पर्यटकको घुँइचो लाग्ने पोखरा यतिबेला सुनसान छ ।

 

चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण १४५ भन्दा बढी देशमा फैलिएपछि त्यसको असर अहिले पोखरामा देखिएको छ ।जसले गर्दा काठमाडौं– पोखरा रुटमा उडान हुने विमान कम्पनीले हवाई भाडा सस्तो बनाएका छन् ।

यतिसम्म कि काठमाडौं–पोखरा रुटमा चल्ने लक्जरी बसभन्दा हवाई भाडा सस्तो भएको छ । यो रुटमा चल्ने लक्जरीले २ हजार रुपैयाँसम्म टिकट वापत पैसा लिन्छन् । तर विमान कम्पनीहरुले १७ सयदेखि नै टिकट बिक्री गर्न थालेका छन् ।

 

कोरोना भाइरसका कारण यात्रुको संख्यामा उल्लेख्य कमी आएपछि विमान कम्पनीहरुले सस्ता दरमा टिकट बिक्री गरिरहेका हुन् ।चैत २ गतेको मात्रै टिकट हेर्ने हो भने पोखराका लागि १७२० रुपैयाँदेखि २ हजार रुपैयाँमा सस्तो दरका टिकट उपलब्ध भइरहेका छन् ।

 

बसमा यात्रा गर्दा एकातिर दिनभरी समय लाग्ने तर हवाई यात्रामा २५ मिनेटको दूरीमा तय गर्न सकिने यो रुटमा यात्रुको संख्यामा कमी आउँदा पोखरामा पर्यटक व्यवसायमा नराम्रो असर परेको छ ।

 

पोखराको आकर्षण मानिने प्याराग्लाइडिङ व्यवसाय यतिबेला संकटमा पर्न थालेको छ । प्याराग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतका अनुसार अहिले पर्यटकको संख्यामा कमी आउँदा घर भाडा, बैंकको ब्याज र कर्मचारीको तलब दिन समेत गाह्रो अवस्था आइसकेको छ ।त्यस्तै, पोखराका होटलको अकुपेन्सी पनि निकै तल झरेको छ भने पसल, रेष्टुराँको व्यवसाय पनि ठप्प जस्तै भएको छ ।