कोरोनाले खाडीको रोजगारीमा असरः ४ लाख घरेलु र गैरकानुनी नेपाली कामदार उच्च जोखिममा

काठमाडौं, चैत १४ । कोरोना महामारीले विश्वभर मानवीय क्षति मात्रै गराएको छैन, आर्थिक सन्तुलन नै खलबल्याउन थालेको छ । विश्व लकडाउन हुँदा रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगेका छन् । खासगरी नेपाली श्रमिकको प्रमुख गन्तव्य खाडीमा घरेलु र गैरकानुनी रूपमा रहेकाहरूको रोजगारी उच्च जोखिममा रहेको इक्विडम रिसर्च सेन्टरले गरेको प्रारम्भिक अध्ययनले देखाएको छ । रिसर्चका दक्षिण एसिया निर्देशक रामेश्वर नेपालले खाडीमा कागजपत्र नभएका ९अलेखबद्ध० र घरेलु श्रमिकलाई बढी असर पर्ने देखिएको बताए ।

 

कानुनी कागजपत्र नभएका श्रमिक सम्बन्धित मुलुकका लागि अवैधानिक मानिन्छन् । उनीहरूले संकटका वेला सम्बन्धित मुलुकले दिने कुनै पनि सुविधा पाउँदैनन् । नेपाल सरकारले पनि घरेलु श्रमिकलाई श्रम स्वीकृति नदिने भएकाले यस्ता श्रमिकको कुनै तथ्यांक हुँदैन । त्यसैले रोजगारदाताले तलब भुक्तानी नगर्दा श्रमिक समस्यामा पर्छन् । ‘अलेखबद्ध भएका कारण यस्ता श्रमिकलाई सम्बन्धित मुलुकले सहयोग गर्दैन । बरु कारबाही गर्न सक्छ,’ नेपालले भने, ‘नेपाल सरकारसँग पनि यस्ता श्रमिकको कुनै तथ्यांक नहुने भएकाले उद्धार गर्न सक्दैन ।

 

खाडीका विभिन्न मुलुकमा यस्ता नेपाली श्रमिक चार लाख रहेको विभिन्न तथ्यांकले देखाएका छन् । सम्बन्धित मुलुकको राजदूतावासको अनुमानित आँकडाअनुसार मलेसियामा ५९ हजार, संयुक्त अरब इमिरेट्स (युएई)मा ५० हजार, कुवेतमा १९ हजार सात सय ८७, साउदीमा सात हजार, जोर्डनमा पाँच हजार र कतारमा चार हजार ९९ घरेलु श्रमिक छन् । त्यस्तै, लेवनाममा तीन हजार, कुर्दिस्तानमा तीन हजार, माल्दिभ्समा दुई हजार र बहराइनमा एक हजार घरेलु श्रमिक छन् । भिजिट भिसामा गएका, भिसा अवधि सकिएका, एउटा कम्पनी छाडेर अर्को कम्पनी गएका अलेखबद्ध कामदार दुई लाखभन्दा बढी हुन सक्ने अनुमान छ ।नयाँ पत्रिका दैनिकमा खबर छ।