नेकपा(क्रान्तिकारी माओवादी)ले सरकारको निरीहताप्रति चिन्ता व्यक्त :मोहन वैद्य

 काठमाडौं,चैत, २३ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) ले सरकारको स्वास्थ्य सेवा प्रवाह प्रभावकारी नभएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

 

क्रान्तिकारी माओवादीका महासचिव वैद्यले आइतबार एक विज्ञप्ति जारी गर्दै कोरोना रोकथाम उपायदेखि उपचार प्रक्रियासम्मका कार्यमा लापरबाही भएको निष्कर्ष निकालेका हुन् । वैद्यले अस्पतालहरूको लापरबाहीमा सरकार निरीह भएको भन्दै दःखसमेत व्यक्त गरेका छन् ।

 

‘बागलुङ्बाट पोखरा ल्याई गण्डकी अस्पतालको बाहिर प्राङ्गणमा राखिएका ज्वरोको बिरामीले डाक्टर भेट्नका निम्ति करिब १५ घण्टासम्म पर्खिनु परेको कुराले स्थितिको गम्भीरतालाई दर्शाउँछ,वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसलाई टुलुटुलु हेरेर बस्ने सरकारको निरीहताप्रति हाम्रो पार्टी दुःख व्यक्त गर्दछ ।’

 

कोरोना प्रकोप न्यूनीकरणमा सम्पूर्ण संयन्त्र परिचालन गर्न पनि उनले माग गरेका छन् । निजी तथा सरकारी अस्पतालमा पर्याप्त सुरक्षा उपकरण नभएकाले प्रदान गर्नुपर्ने वैद्यको सुझाव छ। सङ्क्रमित बिरामीको सम्पर्कमा आउने स्वास्थ्यकर्मीहरुको जीवन बीमा गर्न तथा कोरोनाको परीक्षण बढाउन पनि उनले माग गरेका छन् ।

 

पछिल्लो समय केही सरकारी तथा निजी अस्पताल आफ्नो कर्तव्य निर्वाह गर्न चुकेकाले तिनीहरूमाथि कारबाही गर्नुपर्ने माग पनि वैद्यको छ ।

प्रेस–वक्तव्य
विदेशबाट आएका विरामीहरुबाट नेपालमै रहेका स्थानीय व्यक्तिमा सङ्क्रमण देखिएसंगै कोरोनाजन्य कोभिड–१९को प्रकोप नेपालमा दोस्रो चरणमा प्रवेश गरेको छ । यो नेपाल अव भयावह महामारीतर्फ उन्मूख छ भन्ने कुराको सुचना हो । यो स्थितिमा हाम्रो पार्टीले निम्नानुसारका विषयमा सरकार तथा आम जनताको विशेष ध्यानाकर्षण गर्दछ ।

हामीले यस भन्दा पहिलेका वक्तव्यहरुमा यो प्रकोपलाई स्थानीय जनसमुदायभित्र प्रवेश हुन नदिएर महामारीबाट बच्नका लागि बाहिरबाट नेपाल प्रवेश गरेका सबैलाई क्वारेन्टाइनमा राखी सङ्क्रमितहरुको पहिचान गर्ने र सङ्क्रमितलाई आइसोलेशनमा राख्ने सुझाव दिंदा पनि सरकारले त्यसको पुरै वेवास्ता गरेका कारण अहिले यो स्थिति पैदा हुन गएको छ । हाम्रो पार्टी नेपाल सरकारको यस्तो लापरवाही र गैर जिम्मेवारीपूर्ण रवैयाको घोर भत्र्सना गर्दछ ।

कोभिड–१९द्वारा सङ्क्रमित विरामीहरुको सम्पर्कमा रहने सबै प्रकारका स्वास्थ्यकर्मीहरुका लागि निजी सुरक्षाका उपकरणको पर्याप्त व्यवस्था मिलाई सरकारी तथा निजी दुवैथरी अस्पतालहरुलाई सरकारले परिचालन गर्नु पर्दछ भनी हाम्रो पार्टीले यसभन्दा अगाडिका वक्तव्यहरुमा जोडदार माग राख्दै आएको थियो । तर सरकारले यसलाई गंभीर रुपमा कहिल्यै लिएन बा कमिशनको पछाडि दौडियो । मोटो रकम लिएर ओम्नी विजनेस कर्पोरेट इन्टरनेशनल मार्फत सरकारले चीनबाट केही उपकरण ल्यायो तर विश्व स्वास्थ्य सङ्गठन र नेपाली डक्टरहरुले तिनको विश्वसनीयता माथि प्रश्न उठाए ।

यसरी सुरक्षा उपकरणहरु नभएको र भएका पनि विश्वसनीय नभएको स्थितिले देशैभरी सम्बन्धित स्वास्थ्यकर्मीहरुमा एक प्रकारको आतङ्क पैदा गराएको छ । वाग्लुङ्बाट पोखरा ल्याई गण्डकी अस्पतालको बाहिर प्राङ्गणमा राखिएको ज्वरोको विरामीले डाक्टर भेट्नका निम्ति करीव १५ घण्टासम्म पर्खिनु परेको कुराले स्थितिको गंभीरतालाई दशाउँछ । यसलाई टुलुटुलु हेरेर बस्ने सरकारको निरीहताप्रति हाम्रो पार्टी दुःख व्यक्त गर्दछ ।

कोरोना जन्य प्रकोपले महामारीको सुचना दिए पछि अब देशको सम्पूर्ण जोड यसको विस्तारलाई नियन्त्रण गर्नेमा लगाउनु पर्दछ । यसका लागि मूख्यतः चारवटा कुरामा ध्यान दिनु जरुरी छ । एक, दुवै थरी निजी तथा सरकारी अस्पतालहरुका लागि पर्याप्त सुरक्षा उपकरणहरु उपलव्ध गराउनु पर्दछ । दुई, सङ्क्रमित विरामीको सम्पर्कमा आउने सम्पूर्ण स्वास्थ्य कर्मीहरुको जीवन विमा गरिदिनु पर्दछ, । तीन, अविलम्व आम जनतासम्म पुग्ने गरी भाइरसजन्य प्रकोपको परीक्षण गराउनु पर्दछ । चार, महामारी रोकथामका लागि आफ्नो जिम्मेवारी पुरा गर्न तयार नहुने जुनसुकै अस्पताललाई खारेज गर्न र यो भीषण लडाइँमा साथ नदिने जो सुकैलाई पनि यथोचित सजाय दिन सरकार तयार हुनु पर्दछ ।
अन्त्यमा, उपरोक्त प्रकारको गंभीर स्थितिमा हाम्रो पार्टी सरकारलाई जिम्मेवार भएर प्रस्तुत होस् भन्ने जोडदार माग गर्दछ र महामारीका विरुद्ध एकताबद्ध भएर लड्न आम जनतालाई हार्दिक अपील पनि गर्दछ ।
किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)