संसदीय क्षेत्र विकासको रकम कोषमा राख्न आग्रह

काठमाडौँ, चैत २८ । नेपाली काँग्रेसका १२ जना केन्द्रीय सदस्यले खर्च कटौती गर्न सरकारसँग आग्रह गर्नुभएको छ । खर्च कटौती गर्नका लागि संसदीय क्षेत्र विकास कोषको रकम कोरोना भाइरस नियन्त्रण कोषमा राखिनुपर्ने, पूर्व पदाधिकारीले पाउने सुविधा र सुरक्षासमेत कटौती गर्दै जनताको हितमा लगाउनुपर्ने माग काँग्रेसका केन्द्रीय सदस्यले गर्नुभएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमित व्यक्तिको पहिचान गरी परीक्षणको दायरा बढाउन सरकारलाई आग्रह गरेको छ । यसका लागि परीक्षण केन्द्रहरू थप गर्न नेताले सुझाएका छन् ।

 

केन्द्रीय सदस्य डा। चन्द भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले बिहीबार संयुक्त अपिल सार्वजनिक गर्दै सो धारणा राख्नुभएको हो ।

 

महामारीका कारण विदेशबाट नेपाल आउन चाहने नेपालीलाई सहजै आउन दिने व्यवस्था मिलाइनुपर्ने मागसमेत उहाँहरूले गर्नुभएको छ । सीमामा आइपुगेका नेपालीलाई नेपाल प्रवेश गराएर क्वारेन्टाइनमा राखिनुपर्ने र आवश्यक स्वास्थ्य परीक्षण पूरा भएपछि मात्र घर जाने व्यवस्था मिलाइनुपर्ने सुझाव उहाँहरूको छ । गोरखापत्र दैनिकमा खबर छ ।