कोरोना कहर : निको हुने संकेत देखिन्छ,तत्काल मृत्युमा जीवन टुंगिन्छ

 पत्रकार एवं ८३ वटा म्याराथुन दौडिईसकेका ५१ बर्षीय अमेरिकी नागरिक एनिक जेसडाननको कोरोना संक्रमण पछि उपचार गरियो । अस्पताल भर्ना नगरिकनै उनि निको हुँदै थिए । यो समय हो मार्च अन्तिम तिरको । त्यसबेला उनको फोक्सोमा देखिएको संक्रमण लगभग निर्मुल हुँदै थियो । तर अप्रिल एकमा उनको स्वास्थ्य अचानक विग्रियो । तुरुन्तै अस्पताल भर्ना गरियो । आईसीयुमा राखेर उपचार सुरु भयो । चिकित्सकहरुले हर सम्भव प्रयास गरे तर १३ घण्टापछि उनको मृत्यु भयो ।

 

त्यस्तै न्युयोर्क भन्दा बाहिरी क्षेत्रमा रहेको एक अस्पतालमा कार्यरत २५ बर्षीया नर्स एमिली मुजिक्याले एक कोरोना संक्रमित ४४ बर्षीया महिलाको रेखदेख गर्ने जिम्मा पाएकी छिन । उनको जिम्मामा रहेकी ति विरामीको अवस्था निकै तिव्र गतिमा सुुधार हुँदै थियो । अचानक उनलाई सास फेर्न गाह्रो हुन थाल्यो र छटपटाउन थालिन । उनलाई तुरुन्तै भेन्टिलेटरको सहारा दिईयो । तर उनको अवस्था अहिले पनि गम्भिर छ । कुनै सुधार देखिएको छैन । यि दुई केस प्रतिनिधिमुलक उदाहरण मात्र हुन ।

भारतीय अनलाईन संस्करण अमर उजालाका अनुसार अमेरिकामा यस्ता थुप्रै केसहरु देखिएका छन । कोरोना संक्रमित विरामीहरुको स्वास्थ्यमा निकै सुधार देखिने र केही घण्टापछि छटपटाउँदा छटपटाउँदै मृत्यु हुने । यस्तो अवस्था अमेरिकाका धेरैजसो अस्पतालहरुमा देख्न पाईएको छ । निकै अनुभवी डाक्टरहरुले पनि यसअघि यस्तो अवस्थाको सामना गर्नु नपरेको बताएका छन । हरसम्भव प्रयास गर्दा पनि विरामीलाई बचाउन नसकिने यस्तो अवस्थालाई चिकित्सकहरुले ‘क्रेजी कण्डिसन’ को संज्ञा दिएका छन ।

 

न्युयोर्कको माउन्ट सिनाई अस्पतालकी नर्स डायना टेरेसका अनुसार उपचारका क्रममा विरामीहरु स्वस्थ भएको महसुस गर्छन । विरामीलाई एकै छिन छाडेर फर्किंदा विरामी अचेत भैसकेको हुन्छ । ‘विरामीलाई एकैछिनका छाड्न पनि मलाई डर लाग्न थालिसकेको छ ।’ नर्स टेरेसाले बताईन । उनका अनुसार यस्तो अवस्था युवा उमेरका विरामीहरुमा पनि देखिएको छ । राम्ररी कुरा गरिरहेका विरामी केहि छिनमै सास फेर्न गाह्रो भयो भन्दै छटपटिन थाल्छन । अनि मृत्यु हुन्छ ।

 

विरामीको स्वास्थ्य अचानक विग्रनुको कारण शरिरले जीवन बचाउने क्रममा उत्पन्न हुने साईटोकिन तत्व भएको लस एन्जेल्सको युनिभर्सिटी अफ क्यालिफोर्नियाका संक्रामक रोग विशेषज्ञ डाक्टर ओटो यंगले बताए । उनका अनुसार उपचाररत विरामीको शरिरमा तिब्र गतिकासाथ रोगप्रतिरोधी कोशिकाहरुको निर्माण हुन थाल्छ । तर कोरोना भाईरसले ति सबै कोशिकाहरुलाई पराजित गरिदिन्छ । यहि क्रममा साईटोकिन तत्वको उत्पन्न हुन्छ । यसले विरामीको रक्तचाप ह्वात्तै बढाईदिन्छ भने फोक्सो लगायत अन्य अंगहरुलाई फेल गराईदिन्छ ।एजेन्सी,