‘पाठ्यपुस्तक तयार छ, विद्यार्थीको हातमा पुर्‍याउन सकिएन’

काठमाडौं, बैशाख २८ । नयाँ शैक्षिक सत्र नजिकिँदै गर्दा कोभिड १९ का कारण लकडाउन शुरू भएपछि विद्यार्थीहरू अध्ययनबाट वञ्चित छन् । अध्ययन गर्न नपाए पनि हातहातमा पुस्तक भएको भए यतिबेला स्वअध्ययनबाट आफूलाई अभ्यस्त राख्न पाउँथे । तर पाठ्यपुस्तक तयार भए पनि लकडाउनका कारण पुस्तक पु¥याउन नसकिएको पाठ्यक्रम विकास केन्द्रले बताएको छ ।

 

केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले यो वर्षका लागि आवश्यक पर्ने पाठ्यपुस्तक तयार पारिसकेको बताए । यस्तै कक्षा १ देखि १२ सम्मकै पाठ्यपुस्तक केन्द्रको वेबसाइटमा राखिएकाले आवश्यक परे डाउनलोड गरेर पठनपाठन गराउन सकिने उनले सुझाए । शिक्षा पत्रकार समूहले शुक्रवार आयोजना गरेको ‘चालू शैक्षिक सत्रमा विद्यालय तहको पाठ्यपुस्तक र पाठ्य सामग्री व्यवस्थापन कसरी ? विषयक भर्चुअल शिक्षा बहसमा उनले यस्तो बताएका हुन् । ‘कक्षा १ को निजी क्षेत्रले छपाइ गर्ने थप पाठ्यसामग्री हो । सरकारले तयार गरेको उक्त कक्षाको पाठ्यपुस्तक छापिइसकेको छ,’ उनले भने । दुर्गमका ४ जिल्लामा पठनपाठन फागुनदेखि नै शुरू भइसकेको समेत उनले बताए ।

 

कक्षा ५ देखिमाथिका कक्षाका पाठ्यपुस्तकको सम्बन्धमा लकडाउनअघि नै जनक शिक्षा सामग्री केन्द्रमा निर्देशन पठाइसकिएको भन्दै उनले छपाइ धेरै भइसकेको र वितरण खुलिसकेकाले छिट्टै विद्यालयमा पुग्ने विश्वास उनले व्यक्त गरे । उनका अनुसार नेपालमा पाठ्यक्रम विकास केन्द्रले मात्रै पाठ्यपुस्तक तयार पार्ने र जनक शिक्षा सामग्री केन्द्र वा सूचीकृत निजी मुद्रक तथा प्रकाशकबाट प्रकाशित हुन्छ । पाठ्यपुस्तक बालअधिकार भएकाले विद्यार्थीले पाठ्यसामग्री, सिकाइ सामग्री पाउनुपर्ने र सिकाइ सामग्री पु¥याउने काम स्थानीय तह, विद्यालय, शिक्षक सबैले गर्नुपर्नेमा उनले जोड दिए ।

 

जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता चित्र आचार्यले जनक शिक्षाले यो वर्ष छाप्ने १ करोड ७५ लाख सेट पुस्तकमध्ये ९० प्रतिशत छपाइ सकिएको जानकारी दिए । उनका अनुसार अबको दुई हप्ताभित्र ती पुस्तक पनि छपाइ गरिसकिने छ । ‘हामी अहिले सेटमै पाठ्यपुस्तक उपलब्ध गराउन सक्छौं, लकडाउनको अवधिमा पनि पुस्तक छपाइको काम भइरहेको छ,’ उनले भने ।

 

शिक्षक महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीले सम्बन्धित एजेन्ट, सम्बन्धित पुस्तक पसल मार्फत विद्यालयमा पु¥याउन सकिए बालबालिकाको हातमा पुग्न सक्ने बताए । अनलाइन, टेलिभिजन, रेडियोजस्ता माध्यमबाट पठनपाठन हुँदा पनि बालबालिकालाई सजिलोका लागि पुस्तक आवश्यक भएको उनले औंल्याए ।

 

नेशनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले नयाँ पाठ्यपुस्तक वितरण प्रक्रियालाई जोड दिनुपर्ने बताए । सिकाइका लागि विभिन्न माध्यमको अभ्यास गरिरहेको भए पनि पाठ्यपुस्तकको भूमिका अहिले पनि उत्तिकै महत्वपूर्ण भएको उनको तर्क छ । अहिले संघ, विभिन्न प्रदेश र विभिन्न स्थानीय तहले विभिन्न खालको सूचना र निर्देशन दिइरहेकाले त्यसमा एकरूपता ल्याउन जरुरी भएको उनले बताए ।

 

शैक्षिक सत्रको अन्त्य नहुँदै लकडाउन भएकाले पाठ्यपुस्तक सूची सार्वजनिक गर्न ढिलाइ भएको उनको भनाइ थियो । नीतिगत रूपमा यो नमिल्ने भए पनि यो वर्षका लागि विद्यालयलाई जिम्मा दिने तर विद्यालयसम्म पाठ्यपुस्तक पुर्‍याउने काम पुस्तक विक्रेताहरूले गर्न सक्ने उनले बताए । प्याब्सनका उपाध्यक्ष गोपाल आचार्यले लकडाउनले बालबालिकालाई घरभित्र थुनिन बाध्य पारेको यो अवस्थामा केही मात्रामा वैकल्पिक माध्यमको प्रयोगबाट बालबालिकासम्म पुग्ने प्रयास भएको बताए । तर, पाठ्यपुस्तक बालबालिकाको हातमा पु¥याउनुपर्ने बाध्यात्मक स्थिति रहेको औंल्याए ।

 

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका महासचिव दिवाकर घिमिरेले पाठ्यपुस्तक विक्री वितरणमा आफूहरू सहयोगीको रूपमा रहन चाहेको भए पनि राज्यले पुस्तक व्यवसायीलाई उपेक्षा गरेर जान खोजेको आरोप लगाए ।

 

राज्यको कानूनमै दर्ता भएर सञ्चालनमा रहेका हजारौं पुस्तक व्यवसायी रहेको अवस्थामा जनकसँग मात्रै सम्बन्धितलाई अनुमति दिने व्यवस्थाले पाठ्यपुस्तक सर्वसुलभ हुन नसक्ने उनको तर्क थियो । सामुदायिक विद्यालयका बालबालिकालाई मात्रै पुस्तक दिने सोच राख्नु गलत भएको औंल्याउँदै उनले संस्थागत विद्यालयले पठनपाठन गर्ने पाठ्यपुस्तक व्यवस्थापनका विषयमा पनि स्पष्ट धारणा आउनुपर्ने बताए । आर्थिक अभियानमा खबर छ ।