प्रहरीकै संरक्षणमा मदिरा तस्करी, प्रतिकार्टुन ५ सय रुपैयाँमा ‘डिल’

सप्तरी, वैशाख २८ । लकडाउनको मौका छोपी सप्तरीमा प्रहरीकै संरक्षणमा भारततर्फ मदिरा तस्करी हुने गरेको खुलेको छ । भारतसँग सीमा जोडिएको सप्तरीको ७८ किलोमिटर क्षेत्रमध्ये विभिन्न नाकाबाट तस्करी हुने गरेको हो । पछिल्लो समय छिन्नमस्ता गाउँपालिकाको महुवा क्षेत्रबाट लाखौं रुपैयाँ बराबरको मदिरा तस्करी भएको पाइएको छ ।

 

महुवाबाट भइरहेको तस्करी रोक्न स्थानीय प्रहरीले सहयोग नगर्दा शुक्रबार राति प्रदेश नम्बर २ प्रहरी कार्यालयका एक हवल्दार नै तस्करद्वारा लखेटिएका छन् ।

 

शुक्रबार राति ११ बजेर ४४ मिनेटमा महुवाबाट २० वटा साइकलमा बोराभित्र कार्टुन हाली भारततर्फ जाँदै गरेको बेला प्रदेश प्रहरी कार्यालयका हवल्दारले रोकेका थिए । सहयोगका लागि उनले तत्काल इलाका प्रहरी कार्यालय सखडाका प्रहरी नायव निरीक्षक (सइ) कल्याण आलेमगरलाई फोन गरेका थिए । तर, सम्पर्क नहुँदा तस्करहरु उनीमाथि नै जाइलागे ।

 

तस्करको आक्रमणबाट जोगिन हवल्दार मोटरसाइकल छोडेर भागेका थिए । उनी भागेपछि तस्करहरुले पहिलेझैं साइकलमा लोड गरिएको मदिरा लिएर भारततर्फ लगेको र उताबाट रजनीगन्धा तथा खैनी बोरामा ल्याएको स्थानीयले बताएका छन् ।

 

तस्करबाट लखेटिएका हवल्दारलाई तत्काल सहयोग गर्न प्रदेश प्रहरी कार्यालयबाट निर्देशन गएपछि मात्र सइ मगरले आफू नगई घटनास्थलतर्फ टोली पठाएका थिए । खेतको बाटो हुँदै भागेका हवल्दार मध्यराति इलाका प्रहरी कार्यालय सखडाको सम्पर्कमा पुगेका थिए ।

सप्तरी प्रहरीका प्रवक्ता डीएसपी तिलक भारतीले भने महुवामा तस्करसँग प्रहरीको कुनै घटना नभएको बताएका छन् ।

 

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले प्रदेश प्रहरी कार्यालयबाट अनुगमनमा खटिएका प्रहरीलाई सहयोग गर्न स्थानीय प्रहरी समयमा नआएका कारण भाग्नुपर्ने अवस्था आएको बताए । ‘अनुगमनमा गएका प्रहरी एक्लै भए, अन्य प्रहरी आउन सकेनन् अनि भाग्नुपर्ने अवस्था आयो,’ उनले भने ।

किन समयमा पुगेनन् स्थानीय प्रहरी ?

प्रदेश प्रहरी कार्यालयबाट खटिएका हवल्दारलाई तस्करले लखेट्दा पनि स्थानीय प्रहरीले सहयोग नगर्नुमा तस्करसँगको मिलेमतो रहेको खुलेको छ । मदिरा तस्करीका लागि इलाका प्रहरी कार्यालय सखडाका सइ कल्याण आले मगरले प्रतिकार्टुन ५ सय रुपैयाँमा डिल गरेको अडियो टेप कान्तिपुरलाई प्राप्त भएको छ । प्राप्त अडियोमा मगरले तस्करहरुसँग लकडाउनका बेला कडाइ रहेकाले प्रतिकार्टुनको रेट बढाउनुपर्ने मोलमोलाइ गरेका छन् । सो कुराकानीमा उनले चारैतिर हल्ला भइसकेकाले प्रतिकार्टुन ५ सयको दरमा मात्र कारोबार गर्न छुट दिने बताएका छन् । जसका अर्को पक्षले सहमति जनाएका छन् ।

 

स्रोतका अनुसार इलाका प्रहरी कार्यालय सखडाको क्षेत्राधिकारभित्र रहेको विभिन्न नाकाबाट प्रतिदिन कम्तीमा ३ सय कार्टुन मदिरा भारत तस्करी हुँदै आएको छ । ५ सयको दरले मिलाइएको लाइनबाट दैनिक कम्तीमा डेढ लाख रुपैयाँ तस्करबाट असुली हुने गरेको छ । स्रोतका अनुसार सो रकम जिल्ला तहका उच्च अधिकारीसमक्ष पनि पुग्ने गरेको छ ।

 

‘जिल्लाका हाकिमको निगाह नभए एउटा थानाको सइले तस्करी छुट दिन सक्दैन, डिल गर्नै सक्दैन,’ एक स्थानीयले भने । तस्करसँगको डिलकै कारण समयमा स्थानीय प्रहरी सहयोग गर्न नजाँदा प्रदेश प्रहरीका हवल्दार भाग्नुपरेको उनले बताए।

 

तस्करसँग डिल गरेको अडियोबारे प्रतिक्रिया लिँदा सइ मगरले भने, ‘कस्तोकस्तो हिसाबमा के रेकर्ड गरे थाहा भएन । फोनमा १० वटा कुरा गरिन्छ । मान्छे फसाउन पनि बोल्नुपर्‍या हुन्छ ।

प्रदेश प्रहरी प्रमुख डीआईजी सिंहले स्थानीय प्रहरीको संलग्नताबारे अनुसन्धान हुने बताए । कान्तिपुर दैनिकमा खबर छ।