उपत्यकामा सवारी साधन चलाउन नयाँ नियम

काठमाडौं, बैशाख २८ । उपत्यकाभित्र आज बाट सवारी साधन चलाउनका लागि नयाँ व्यवस्था लागु गरिएको छ। जुनसुकै कार्यालय वा संस्थाका सवारी साधनले तोकेको समयमा मात्र चलाउन पाउने छ ।

 

आइतबारबाट पास भए पनि तोकिएको समयमा मात्र सवारी चलाउन पाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालका अनुसार सरकारी कार्यालयलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म र घर फर्कन बेलुकी ५ बजेदेखि ६ बजेसम्म समय त्यस्तै, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभन्दा पहिल्यै ढुवानी गरिसक्नुपर्ने र बैंक, वित्तीय संस्था बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्ने ढकालले जानकारी दिए।

 

पास भए पनि विनाकाममा यताउता हिँडिरहने वा एउटा काममा पास लिएर फरक प्रयोजनमा प्रयोग भएको पाइएमा कारबाही हुने उनले बताए । सरकारले लकडाउनमा ठप्प भएका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र विभिन्न ४४ प्रकारका उत्पादनमूलक उद्योगहरू खोल्ने निर्णय गरेपछि सडकमा भीडभाड कम गर्न सवारीसाधनलाई यस्तो नियम लागू गरिएको उनले बताए ।

औषधि र खानेपानीको सवारी साधनको हकमा भने यो नियम लागू हुने छैन ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका डिआइजी र महाशाखाबीच शुक्रबार भएको बैठकले यो निर्णय गरेको हो ।