लकडाउन प्रभावः तेस्रो त्रैमासमै खुम्चियो बैंकहरूको नाफा वृद्धिदर

काठमाडौं, जेठ १ । कोरोना भाइरस नियन्त्रण गर्न गत चैत ११ गतेदेखि जारी लडकाउनको असर वाणिज्य बैंकहरूको चालू आर्थिक वर्षको चैत मसान्तसम्म अर्थात् तेस्रो त्रैमासिक वित्तीय विवरणमा नै देखिएको छ । तेस्रो त्रैमाससम्ममा २० दिन मात्र लकडाउन भएको छ । तर, यति छोटो अवधिमा पनि बैंकिङ कारोबार राम्रो नहुँदा अधिकांश वाणिज्य बैंकहरूको समग्र ९ महीनाको वित्तीय परिसूचक नै प्रभावित भएको देखिन्छ ।

 

हालसम्म २७ ओटा वाणिज्य बैंकले हालै सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरणअनुसार तेस्रो त्रैमासमा बैंकहरूको खुद नाफा २ दशमलव ३६ प्रतिशतले मात्र बढेको छ ।

 

गत आव २०७५–७६ को सोही अवधिमा वाणिज्य बैंकहरूले रू. ४४ अर्ब ६४ करोड खुद नाफा कमाएका थिए । तर, चालू आवको तेस्रो त्रैमासमा भने वाणिज्य बैंकहरूले त्योभन्दा मात्र रू. १ अर्ब ५ करोड बढी अर्थात् रू. ४५ अर्ब ६९ करोड नाफा गरेका छन् । गत आवको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा २१ दशमलव ६५ प्रतिशतले बढेको थियो।

 

बैंकहरूको आम्दानीको मुख्य स्रोत नै कर्जाको ब्याज हो । तर, अहिले ब्याज संकलन हुनसकेको छैन ।

 

त्रैमासको अन्त्यको अवधि भएकाले यो समयमा अघिपछिभन्दा बढी ब्याज भुक्तानी हुन्छ । तर, नेपाल राष्ट्र बैंकले नै कर्जाको ब्याज र किस्ता भुक्तानी गर्ने म्याद थप गरेपछि नगण्य ऋणीले मात्र ब्याज भुक्तानी गरेका छन् । त्यसमाथि प्रतीतपत्र ९एलसी० कारोबार, वैदेशिक मुद्रा सटहीबाट हुने आय पनि ठप्प छ । यी सबै कारणले गर्दा बैंकको आम्दानी घटेको तर सञ्चालन खर्च भने यथावत् रहँदा नाफा प्रभावित भएको बैंकरहरू बताउँँछन् ।

 

त्यसो त चालू आर्थिक वर्षको शुरूदेखि नै बैंकहरूको नाफा वृद्धिदर त्यति सन्तोषजनक छैन । गत आवहरूमा दोहोरो अंकमा हुने बैंकहरूको नाफा वृद्धिदर चालू आवको शुरूदेखि नै एक अंकमा खुम्चिएको छ । बैंकको नाफा वृद्धिदर चालू आवको पहिलो त्रैमासमा ६ दशमलव २५ प्रतिशत र दोस्रो त्रैमासमा ७ प्रतिशत रहेको थियो । अघिल्ला वित्तीय विवरणअनुसार बैंकहरूले पहिलो त्रैमासमा रू.१६ अर्ब १७ करोड र दोस्रो त्रैमासमा रू। ३२ अर्ब ७५ करोड खुद नाफा कमाएका थिए ।

 

तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार नाफा कमाउने मामलामा नबिल बैंक पहिलो स्थानमा रहेको छ । नबिल बैंकले ३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, जनता बैंकलाई प्राप्ति गरेको ग्लोबल आईएमई बैंकले ३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाउँदै दोस्रो स्थानमा छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक भने ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएर तेस्रो स्थानमा आएको छ ।

दर्जन बैंकको नाफा घट्यो

प्रकाशित वित्तीय विवरणअनुसार एक दर्जन वाणिज्य बैंकको खुद नाफा घटेको छ । नाफा कमाउने मामला पहिलो स्थानमा रहे पनि नबिल बैंकको नाफा १ प्रतिशतले घटेको छ । वित्तीय विवरणअनुसार बैंक अफ काठमाडौंको नाफामा सबैभन्दा ठूलो ह्रास आएको छ । यस बैंकको नाफा २७ दशमलव ४९ प्रतिशतले घटेको छ ।

 

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको १३ दशमलव २३ प्रतिशत, नेपाल इन्भेस्टमेन्टको २ दशमलव ७३ प्रतिशत, कृषि विकास बैंकको ७ दशलमव ७७ प्रतिशत, नेपाल बैंकको ११ दशलमव ०८ प्रतिशत र नेपाल बंगलादेश बैंकको ११ दशमलव ९५ प्रतिशतले नाफा घटेको छ ।

 

यसैगरी नेपाल एसबीआईको १० दशमलव १ प्रतिशत, सिदार्थको १५ दशमलव ८८ प्रतिशत, माछापुच्छ्रेको ६ प्रतिशत, सनराइजको २३ दशमलव ७१ प्रतिशत र सिभिलको २७ प्रतिशतले नाफा घटेको छ ।आर्थिक अभियानमा खबर छ।